गाउँ सहर

प्रजातन्त्र दिवस मनाइँदै, सम्झनामा मात्र हाेइन व्यवहारमा पनि देखियाेस्

काठमाडाैं । फागुन ७,राष्ट्रिय प्रजातन्त्र दिवस । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

काठमाडौं स्  एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। 

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । 

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । 

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । 

सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ।  दिवसका अवसरमा फागुन ६ गतेदेखि नै तीन दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । उक्त दिन नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ । 

यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ ।  यस्तै काठमाडौं उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी दिवस मनाइने  छ ।

दिवसका अवसरमा सरकारले आज विशेष कार्यक्रम गर्दैछ । गएको माघ २० गते यस वर्ष प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । समितिको तीन दिन कार्यक्रम गर्ने निर्णयअनुसार हिजोदेखि नै विभिन्न कार्यक्रम भइरहेका छन् । सरकारले बिहान साढे ९ बजे काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीलगायत मन्त्री र उच्च अधिकारी सहभागी हुनेछन् । 

फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत