स्वास्थ्य

प्रधानमन्त्री रोजगार कार्यक्रम : २ लाख जना श्रमिकको सामुहिक दुर्घटना बीमा 

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यरत २ लाख जना श्रमिकको सामुहिक दुर्घटना बीमा गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी मार्फत २ लाख श्रमिकको काममा खटाईएको सामुहिक कार्यस्थल दुर्घटना बीमा गरेको हो ।

सात महिना अवधि कायम रहने गरी रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएकामध्ये रोजगारीमा खटिने २ लाख श्रमिकको काममा खटाईएको १०० दिनको अवधिको मात्र सामुहिक कार्यस्थल दुर्घटना बीमा गरेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारीमा खटिने श्रमिकको लागि राष्ट्रिय बीमा कम्पनीले छुट्टै बीमालेख प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रमिक सुरक्षा बीमालेख’ मार्फत बीमा गरेको मन्त्रालयले जनाएको छ ।

श्रमिकको सामुहिक दुर्घटना बीमाले ७ लाख रुपैयाँसम्मको मृतक दुर्घटना बीमा, दुर्घटनाजन्य कारणबाट उत्पन्न अपाङ्घता तथा अशक्तता बीमा र औषधी समेतलाई समावेश गरेको छ । स्थायी पूर्ण अशक्तता भएमा सात लाखसम्मको जोखिम बहन बीमालेखमा समावेश गरिएको छ ।

प्रति व्यक्ति बीमांक रकम ७ लाख रुपैयाँको हुनेछ । २ लाख श्रमिकको सामुहिक दुर्घटना बीमा शुल्क वापत १ करोड ९५ लाख रुपैयाँ शुल्क लागेको मन्त्रालयले बताएको छ ।

चालू आवको पहिलो ६ महिनामा ७ लाख ४३ हजार १ सय ६४ बेरोजगार सूचीकृत भएका छन्  । श्रम मन्त्रालयको तथ्यांक अनुसार सूचीकृत बेरोजगारमध्ये १५ हजार ६ सय ७० जना व्यक्तिहरू कामका लागि पारिश्रमिकतर्फ रोजगारीमा खटिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत