कला

झरना साहित्यिक परिवारलाई हेमराज स्मृति पुरस्कार

पोखरा । हेमराज स्मृति पुरस्कार २०७७ झरना साहित्यिक परिवार मकवानपुरलाई प्रदान गरिने भएको छ । साहित्यकार/समाजसेवी हेमराज पहारीका योगदानलाई जनसमक्ष लैजान र नेपाली साहित्यको विकासमा टेवा पु-याउन गठन भएको हेमराज पहारी स्मृति प्रतिष्ठानले यो निर्णय गरेको हो ।

प्राज्ञ हरिदेवी कोइराला संयोजक र लक्ष्मी निरौला र रमा परासर सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिस बमोजिम झरना साहित्यिक परिवारलाई पुरस्कार प्रदान गर्न लागिएको हो । २०५० सालमा स्थापना भएको यो संस्थाले हरेक महिनाको चौथो शनिबार नियमित शृंखलासहित विभिन्न साहित्यिक गतिविधि गर्दै आएको छ ।

पुरस्कार राशि नगद १ लाख र ताम्रपत्र छ । साहित्यकार हेमराजको ११ औं स्मृति दिवस फागुन १७ गते हेटौँडामा स्मृतिसभा र पुरस्कार समर्पण समारोह आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानलेले जानकारी दिइन् ।

प्रत्येक २ वर्षमा प्रदान गरिने यो पुरस्कार यसअघि वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी, दाङको राप्ती साहित्य परिषद, धरानको विमल गुरुङ स्मृति पुस्तकालय र लोककवि अली मियाँलाई प्रदान गरिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत