गाउँ सहर

भागरथी हत्याका अभियुक्त सार्वजनिक, अदालतद्वारा ५ दिन म्याद थप

काठमाडाैं । प्रहरीले लामाे अनुसन्धानपछि बैतडीको दोगडा केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका अभियुक्त व्यक्तिलाई सार्वजनिक गरेको छ ।

अभियुक्त दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले आज सार्वजनिक गरेको हो ।

स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो । भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ ।

 

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी १८ वर्षीय दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले अनुमति दिएको छ ।

हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए ।


बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । दिनेश भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।

भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । आरोपी दिनेशलाई प्रहरीले मंगलबार साँझ उनको घरबाटै नियन्त्रणमा लिएको थियो । 

डीआईजी सुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताए । घटनामा दिनेशको मात्रै संलग्नता पाइएको डीआईजी सुवेदीले बताए । प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी छ ।

दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको सुवेदीले बताए। हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निस्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।

उनले भने, ‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायक अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौ ।’

गाउँ सहर संवाददाता

तपाईँको मत