समाज

दलित भन्दै अपशब्द प्रयोग गर्ने प्रहरी नियन्त्रणमा

काभ्रे । दलित भन्दै अपशब्द प्रयोग गर्ने प्रहरी नियन्त्रणमा परेका छन् । जातीय छुवाछुत तथा भेदभाव मुद्दाका फरार तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । जातीय छुवाछुत तथा भेदभाव मुद्दाका ३ जना फरार प्रतिवादीहरु आइतबार दिउँसो पाँचखालबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा पाँचखाल नगरपालिका–६ बस्ने ३७ वर्षीय रामचन्द्र श्रेष्ठ, २५ वर्षीय नविन श्रेष्ठ र ३० वर्षीय दिपक श्रेष्ठ रहेका छन् । 

पाँचखाल नगरपालिका–६ स्थित यात्रु प्रतिक्षालयमा २०७४ माघ १ गते पीडितलाई दलित भन्दै अपशब्द तथा गालीगलौज गरी जुत्ताको माला लगाई गाउँ निकाला गर्न खोजेको घटना सम्बन्धी मुद्दामा उच्च अदालत पाटनको २०७६ असार १६ गते जनही ४ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना र पीडितलाई जनही २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने गरी भएको फैसला पश्चात फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालत धुलिखेलको आदेशले बाँकी कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत