अर्थतन्त्र

५४ प्रतिशत उद्योग/व्यवसाय पूर्णरूपमा सञ्चालनमा, यस्ताे छ आर्थिक लक्ष्यहरूको परिदृश्य

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष  २०७७/७८ को मौद्रिक नीतिको अर्ध्व–वार्षिक समीक्षा केहिदिन अघि सार्वजनिक गरेकाे छ । सार्वजनिक समीक्षामा आर्थिक लक्ष्यहरूको स्थिति तथा परिदृश्य उल्लेख गरिएकाे छ ।

नेराबैंकका अनुसार, कोभिड–१९ को प्रकोप नियन्त्रण तथा रोकथाम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अवलम्बन गरिएका बन्दाबन्दी लगायतका कदमहरूबाट प्रभावित अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर सम्बन्धी यस बैंकले गरेको सर्वेक्षण अनुसार २०७७ असारको तुलनामा २०७७ मंसिरमा अर्थतन्त्रमा उल्लेख्य सुधार देखिएको छ । २०७७ असारमा गरिएको सर्वेक्षणले ४.१ प्रतिशत उद्योग/व्यवसाय मात्र पूर्ण सञ्चालनमा रहेको देखाएकोमा २०७७ मंसिरमा गरिएको पुनरावृत्ति सर्वेक्षणले ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको छ ।

होटल तथा रेष्टुरेन्ट र शिक्षा क्षेत्रका क्रियाकलाप भने वढी प्रभावित देखिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा ६ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ३.७२ प्रतिशत रहेको छ । वार्षिक विन्दुगत आधारमा २०७७ पुसमा उपभोक्ता मुद्रास्फीति ३.५६ प्रतिशत रहेको बैंकले जनाएकाे छ ।

बैंकका अनुसार, समीक्षा अवधिमा दाल तथा गेडागेडी, घिउ तथा खाने तेल, मासु तथा माछा लगायतका खाद्य वस्तुहरूको मुद्रास्फीति उच्च रहेतापनि गैरखाद्य वस्तु तथा सेवा अन्तर्गतका घरभाडा, शिक्षा तथा लत्ताकपडा लगायतका वस्तु तथा सेवाको मूल्य वृद्धि कम रहेका कारण समग्र मुद्रास्फीतिमा कमी आएको छ ।

समीक्षा अवधिमा निर्यात ६.१ प्रतिशतले वृद्धि भई रु. ६० अर्ब ८० करोड र आयात ४.८ प्रतिशतले घट्न गई रु. ६६१ अर्ब २५ करोड भएको छ । फलस्वरूप, व्यापार घाटामा ५.८ प्रतिशतले सुधार आएको छ । यस अवधिमा चालु खाता रु. ४९ अर्ब ५३ करोडले घाटामा रहेको राष्ट्र बैंकले बताएकाे छ । 

राष्ट्र बैंकका अनुसार, समीक्षा अवधिमा शोधनान्तर रु.१२४ अर्ब ९२ करोडले बचतमा रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०७७ पुस मसान्तमा १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ ।

२०७७ असार मसान्तको तुलनामा २०७७ पुस मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग २.९५ प्रतिशतले अधिमूल्यन भई प्रति अमेरिकी डलर खरिद विनिमय दर रु. ११६.९२ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.२९ प्रतिशतले अवमूल्यन भएको थियो ।

नेपाल सरकार, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा संघीय सरकारको कुल खर्च रु. ४१५ अर्ब ७५ करोड र राजस्व संकलन रु. ४२२ अर्ब २४ करोड रहेको राष्ट्र बैंकले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत