७० महिनापछि बन्यो सिंहदरबार
- गाउँ सहर डेस्क
- ३ फाल्गुण सोमबार, २०७७ | १६:४०:०० मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गरेका छन । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि आज उनले उदघाटन गरेका हुन् ।
सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका तीनवर्षे कार्यकालका विषयमा जानकारी गराएका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पश्चिम बाहेकका तीन मोहडाको लागत रु ८७ करोडमा पुनःनिर्माण भएको हो ।
उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यही भवनमा सर्ने जनाइएको छ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरमै रहेको तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।
पुनःनिर्माण सम्पन्न भई उद्घाटन भएका मोहडा विसं २०३० को आगलागीमा परेपछि विसं २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरुपमा पुनःनिर्माण गरिएको थियो । भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधासम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्र राखिएको छ । कार्यालयमा २४ सै घण्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणालीसमेत जडान गरिएको छ ।
सिंहदरबार पुनःनिर्माण कार्यान्वयन गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापन मार्फत तीन मोहडाको पुनःनिर्माण भएको हो ।
उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेण्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रबलीकरण गरिएको उनले जानकारी दिएका छन् । निर्माण कम्पनी शर्मा–न्यू टेक्निकलले प्रथम चरणको काम गरेको तथा शर्मा–माइक्रोटेक–न्यू टेक्निकल जेभीले दोस्रो चरणको काम गरेको एकाइले जनाएको छ ।
पश्चिम मोहडाको प्रबलीकरण जारी
आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी प्रबलीकरण भइरहेको छ । सो भाग भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गरी पुनःनिर्माण गर्ने विषयमा आवश्यक अध्ययन तथा विज्ञबीच छलफलले समय लिएको थियो ।सम्पदा संरक्षणको दृष्टिकोणले पुरानै शैली र स्वरुपमै बचाउन प्रबलीकरण नै गर्न उपर्युक्त भएको निष्कर्ष आएपछि प्राधिकरणबाट प्रबलीकरण भइरहेको छ ।
विसं २०७६ असोज २७ गतेदेखि शुरु भएको पश्चिम मोहडाको पुनःनिर्माणको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ । मूल्यअभिवृद्धि करबाहेक करीब रु ४६ करोड ८८ लाखमा शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीले पश्चिम भागको प्रबलीकरण गरिरहेको छ । आगामी असारसम्म पश्चिमी मोहडाको काम सक्ने जनाइएको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस