अर्थतन्त्र

कृषि तथा उर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह कस्तो ? सहुलियतपूर्ण कर्जा कतिले पाए ?

काठमाडाैँ । कृषि र उर्जा क्षेत्रमा गुनासोका चाङ आएपनि नेपाल राष्ट्र बैंकले जारी गरेको ६ महिनामा आधारित मौद्रिक नीतिकाे समीक्षाले सो क्षेत्रमा भएको कर्जा प्रवाह सकारात्मक रहेको तथ्यांक सार्वजनिक गरेकाे छ ।

राष्ट्र बैंकका अनुसार, वाणिज्य बैंकले कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत, २०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएकोमा २०७७ पुस मसान्तमा उक्त क्षेत्रमा ११.०२ प्रतिशत कर्जा प्रवाह भएको छ ।

वाणिज्य बैंकहरूले कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ६ प्रतिशत, २०७९ असार मसान्तसम्म ७ प्रतिशत, २०८० असार मसान्तसम्म ९ प्रतिशत र २०८१ असार मसान्तसम्म १० प्रतिशत ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएकोमा २०७७ पुस मसान्तमा उक्त क्षेत्रमा ५.७२ प्रतिशत कर्जा प्रवाह भएको उसले जनाएकाे छ ।

यस्तै बैंकका अनुसार, उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा परिमार्जन सहित कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट २०७७ पुस मसान्तसम्ममा ६० हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । २०७७ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको रु.१०० अर्ब ३७ करोड यस्तो कर्जा लगानीमा रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३३ हजार ८ सय १७ ऋणीलाई प्रवाह भएको रु.७६ अर्ब ५९ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २७ हजार ६२ ऋणीको रु.२३ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत