गाउँ सहर

‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ प्रति कांग्रेसकाे कडा चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ अघि नबढाउन सरकारलाई चेतावनी दिएकाे छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सन्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै विरोध गरेको हाे ।

व्यापक विरोधका बाबजुद सरकारले ‘सामाजिक सन्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको छ ।

‘सामाजिक संजाल ब्यवस्थापन’ का नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गरिंदैछ । सजग बन्न युवा पुस्तालाई बिशेष अपील गर्दछाैं । अन्ततः सरकारले व्यापक विरोधका बाबजुद सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ ।’ विज्ञप्तिमा लेखिएकाे छ । 

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान छदैँछन् । थप ब्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्न तर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ । कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाईदैन ।’

प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिँदै कांग्रेसले आज सरकारविरुद्ध देशभर गर्न लागिएको विरोध प्रदर्शनमा यो मुद्दालाई पनि उठाउने प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

‘प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिंदै नेपाली कांग्रेसले आजको देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्नेछ । सामाजिक संजालमा ब्यक्त मतलाई सरकारी आवेगले कार्वाहीको दायरामा बांध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी हो । यस विरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस संजाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वान समेत गर्दछ’ विज्ञप्तीमा उल्लेख छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत