खेल

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि सेनाका राजन रोकायाको हातमा

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाले हात पारेका छन् । रोकायाले १५ औँ संस्करणको  ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जितेका हुन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा सम्पन्न म्याराथनमा रोकायाले २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद २ लाख तथा ट्रफी पुरस्कार प्राप्त गरेका छन् । यसैगरी द्वितीय र तृतीय स्थानको उपाधिसमेत सेनाका धावकहरुले प्राप्त गरेका हुन् ।

सेनाका ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी एक लाख पुरस्कार प्राप्त गरे भने देवीराज बस्नेतले दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्यारथनको निर्धारित दूरी पार गरी तृतीय स्थानको पुरस्कार ७५ हजार प्राप्त गरेका छन् ।

पाँचथरका प्रदीप तामाङले २ घण्टा ५४ मिनेट ८ सेकेण्डमा दूरी पार गरी सान्त्वना स्थान सहित २५ हजार पुरस्कार तथा ट्रफी प्राप्त गरे । यस वर्ष पहिलोपटक पोखरा म्याराथनमा महिलाका लागि २१ किमीको हाफ म्याराथन समावेश गरिएकामा नेपाल प्रहरीका राजपुरा पछाईँले हाफ म्याराथनको उपाधि जित्न सफल भइन् । निर्धारित दूरी १ घण्टा २७ मिनेट आठ सेकेण्डमा पूरा गरी उनले १ लाख र ट्रफी पुुरस्कार प्राप्त गरेकी छन् ।

जुम्लाका राममाया बुढाले एक घण्टा ३० मिनेट पाँच सेकेण्डमा दौड पूरा गरी द्धितीय स्थान हासिल गर्न सफल भई ७५ हजार पुुरस्कार प्राप्त गरिन् । सशस्त्र प्रहरी बलका ब्रिन्दा श्रेष्ठले एक घण्टा ३१  मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय स्थान हासिल गरिन् । उनले ५० हजार पुरस्कार जितिन् ।

नेपाल प्रहरीका रेखा विष्टले एक घण्टा ३६ मिनेट दुई सेकेण्डमा हाफ म्याराथन पूरा गरी सान्त्वना स्थान प्राप्त गरेर १५ हजार पुरस्कार हात पारिन् । म्याराथनमा २०९ र महिलाको हाफ म्याराथननमा २९ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ । ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहीन दौड फागुन २२ गते हुनेछ ।

१० किमी महिला—पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र—छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिला—पुरुष दौडमा विजेताले १५ हजार तथा द्धितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले ७ हजार, द्वितीयले ५ हजार र तृतीयले ३ हजार पुरस्कार पाउनेछन् । यसैगरी छात्र—छात्रा दौडमा प्रथमले १० हजार द्धितीयले ७ हजार र तृतीय हुनेले ४ हजार पुरस्कार प्राप्त गर्ने आयोजक टीमले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत