समाज

उपत्यकामा मागको १८ प्रतिशत मात्र खानेपानीको आपूर्ति

काठमाडौँ । संघीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग भएपनि वर्षामा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटर मात्र आपुर्ति हुने गरेको छ ।

उपत्यकामा आपुर्ति हुने खानेपानीको मात्र माग करिब १८ प्रतिशत मात्र हो । वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको काठमाडौँ उपत्यका खानेपानीले जनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले संविधानमा मौलिक हकका रुपमा स्थापित खानेपानी सेवालाई चुस्त रुपमा प्रवाह गर्न सरोकार भएका सबै निकाय लाग्नुपर्नेमा जोड दिएका छन् ।

“पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको मेलम्चीको सपना पूरा हुन लागेको छ, सपना देख्नेकै कार्यकालमा पूरा नभएपछि त्यसलाई अर्को पुस्ताले पूरा गर्नुपर्ने भएकाले अब हामी पूरा गर्ने चरणमा पुगेका छौँ, डेढ दशकदेखि उपत्यकावासीले शुद्ध खानेपानी पाउन गरेको आशा पूरा गर्न लागिपरेका छौँ”, उनले भने ।

मेलम्चीको पानी आएपछि वितरणका लागि तयार हुन मन्त्री थापाले खानेपानीका कर्मचारीलाई निर्देशन दिए । मेलम्चीको पानी राजधानीमा आएर उपभोक्ताको धारामा गएन भने आइपर्ने राजनीतिक, सामाजिक र प्राविधिक प्रभावलाई ध्यान दिन पनि उनले सचेत गराए ।

मेलम्ची राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले यसको सफलता र असफलतामा देशको सफलता वा असफलता पनि जोडिएकाले कमाउको धन्दा, राजनीतिक मुद्दा नबनाउन मन्त्री थापाले आह्वान समेत गरे । मेलम्ची सम्पन्न भएपछि यसको सफलताका लागि लाग्ने सबै सम्मानका पात्र हुने उनको भनाइ थियो ।

मन्त्रालयका सचिव माधव बेल्वासेले अव्यवस्थित शहरीकरणका कारण खानेपानीको वितरण प्रणाली कताबाट कता जोडिएको छ भन्ने थाहा नहुने भएकाले चुहावटको समस्या समाधानमा कठिनाइ भएको बताए । उपत्यकामा ३० देखि ४० प्रतिशत खानेपानी चुहावट भइरहेको उनले सुनाए । यसलै हाल लिमिटेडले पाँच करोड लिटर पानीमाात्र बाँडिरहेको सचिव बेल्वासेले बताए ।

विसं २०७८ को अन्त्यसम्म मेलम्चीको पानी राजधानीमा वितरण गर्ने मन्त्रालयको प्रतिबद्धता छ । मेलम्ची आएपछि हिउँदमा पनि २५ करोड लिटर पानी वितरण गर्न सकिने मन्त्रालयले जनाएको छ । धारामा पानी नआएपनि ८० देखि ८५ प्रतिशत उपभोक्ताले मासिकरुपमा महसुल तिरिरहेका छन् ।

अध्यक्षसमेत रहेका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले केही दिनमा मेलम्चीको पानी सुरुङमा हालेर परीक्षण गरिने प्रतिबद्धता जनाएका छन् । मेलम्चीको पानी आएपछि लिमिटेडले पनि शाखवृद्धि हुने गरी काम गर्ने अवसर पाउने भएकाले त्यसको उपयोग गर्न पनि उनले आह्वान गरे ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले भूकम्पपछि सुकेको मातातीर्थ र मच्छेगाउँमा फेरि पानी आउन थालेकाले त्यसलाई व्यवस्थित गरेर पानीको परिणाम बढाउन सकिने बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत