गाउँ सहर

शैलुङ्गमा विश्व मानव कल्याण र प्राणी जगतकाे शान्तिका लागि ‘कङ्ग्युर पाठ एवं विशेष पूजा’

रामेछाप । शैलुङ्गमा कङ्ग्युर पाठ एवं विशेष पूजा सञ्चालन गरिने भएकाे छ । यस वर्ष कोराेना माहामारीले विश्व मानव कल्याण र प्राणी जगतकाे शान्तिका लागि उक्त पूजापाठ गर्न लागेकाे हाे । 

 

चैत्र ९ देखि १५ गतेसम्म शैलुङ्ग डाँडामा विशेष छेवाङ, पूजापाठ शुरू भएकाे कार्यक्रम संयोजक दावा सङ्बु शेर्पाले जानकारी दिए । 

पूजापाठ पाँच दिन शैलुङ्गको पंगेरी गुम्बामा र छैटौँ दिन शैलुङ्ग डाँडाको १०८ थुम्कामा कङ्ग्युर परिक्रमा, विशेष पूजापाठसहित समापन हुनेछ । 

"यस वर्ष कोराेना माहामारीले धेरै मानिसहरु अलपत्र रूपमा अस्पतालको बेडमा छटपटाइरहेको र धेरैले अकालमै काेराेना कारणले प्राण त्याग भइ विश्व दुखित अवस्थामा भएकोले उहाँहरुको स्वास्थ्य लाभसहित मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विश्व प्राणी जगत्‌मा शान्ति लाभको कामना, आर्थिक लाभ, वातावरण सन्तुलन, रोगबाट मुक्त समाज लगायतको महत्वपूर्ण लक्ष्य राखी शैलुङ्ग डाँडाबाट विश्व शान्ती कामना गर्दै पूजा थालिएकाे हाे" संयाेजक शेर्पाले भने ।

शैलुङ्गमा गरिन लागेकाे याे पूजा हालसम्मकै महत्वपूर्ण र ठूलो पूजाको रुपमा लिइएकाे उनले बताए । 

पूजा संचालनमा आयोजक टाशी नाम्गेल छ्‌योलिङ्ग, पंगेरी गुम्बा प्रमुख शोनम लामा (शेर्पा) ले आयोजक प्रमुखको भूमिका निर्वाह गर्ने कार्यक्रम संयोजक दावा सङ्बु शेर्पाले बताए । 

व्यवस्थापकीय संयोजक ङ्वाङ शेर्पाकाे संयाेजकत्वमा १३ सदस्यीय पूजा परिचालन कमिटी पनि गठन गरिएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत