गाउँ सहर

संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीद्वारा मरणोपरान्त शरीर दानकाे घोषणा

काठमाडाैं । संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशी र श्रीमती राधादेवी जोशीले मरणोपरान्त शरीर दान दिने घोषणा गरेका छन् । ललितपुर महानगरपालिकाको कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।

जोशी दम्पतीले मृत्युपछि किस्ट मेडिकल कलेजलाई शरीर दान दिने बताए । चिकित्सा विज्ञानमा प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त शरीर दान दिने घोषणा गरेको सत्यमोहन जोशीले बताए ।

ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाख ३० गते जन्मिएका सत्यमोहन जोशी एक सय एक वर्षको पुगे । उनकी श्रीमती राधादेवी ९६ वर्षकी छिन् । जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका छन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा भएको कार्यक्रममा उनहरुले शरीर दान दिने घोषणा गरेका हुन् । गएको वर्ष सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले विभिन्न कार्यक्रम गरी जोशीको जन्मशताब्दीसमेत मनाएको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत