अर्थतन्त्र

महिला लघुवित्तको आईपीओमा आवेदन खुल्यो

काठमाडौँ । महिला लघुवित्तले निष्काशन गरेको प्राथमिक शेयरमा शुक्रबार आवेदन खुलेको छ । लघुवित्तले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कुल चार लाख कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५००० कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारलाई बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयर वितरण हुनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखी १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछन् । आश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर वेवसाइट र एप मार्फत आईपीओमा आवेदन गर्न सकिनेछ । कम्पनीको आईपीओमा माघ ३० गतेदेखी फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ ।

न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा लघुवित्तको आईपीओ ३७ हजार ५०० जना लगानीकर्ताले मात्र हात पार्ने देखिन्छ । तसर्थ, महिलाको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पर्याप्त हुनेछ ।

१० करोड रुपैयाँ जारी पूँजी रहेको लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म महिलाले ७ करोड १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७८—७९ मा १२ करोड ४२ लाख ६४ हजार रुपैयाँ र आव २०७९—८० मा १९ करोड ७० लाख ९३ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ ।

लघुवित्तले चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिशेयर आम्दानी ५१ रुपैयाँ २३ पैसा तथा प्रतिशेयर नेटवर्थ २९४ रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत