अर्थतन्त्र

निफ्राको शेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको एक सय रुपैयाँ अंकित दरका २० करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकले जारी गरेको ८ करोड कित्ता साधारण शेयर सहित २० करोड कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको फागुन २ गते आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ने भएको छ । नेप्से र सूचीकृत कम्पनीबीच शेयर सूचीकरण भएको दोस्रो दिनदेखि नेप्सेमा शेयर कारोबारमा आउने गर्दछ ।

नेप्सेले बैंकको शेयर कारोबारका लागि एनआइएफआरए (NIFRA) कारोबार संकेत प्रदान गरेको छ । यससँगै बैंकको शेयर यहि कारोबार संकेतमा नेप्सेमा कारोबारमा आउनेछ । बैंकको शेयर यहि संकेतमा लगानीकर्ताको डिम्याट  खातामा जम्मा भैसकेको छ ।

कतिमा खुल्छ पहिलो कारोबार ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको गत आर्थिक वर्ष २०७६.७७ को वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ११३.६२ रुपैयाँ छ । यस अनुसार बैंकको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ११३.६२ रुपैयाँदेखि अधिकतम ३४०.८६ रुपैयाँसम्म कारोबार रेञ्ज प्रदान गरेको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गर्दा कम्पनीले सूचीकरणका लागि पेश गरेको कागजातको पछिल्लो लेखापरिक्षण प्रतिवेदनमा उल्लेख रहेको प्रतिशेयर नेटवर्थलाई आधार मान्ने गरेको छ ।

नेप्सेले कारोबार रेञ्ज तोक्दा कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

यसअनुसार बैंकको शेयर कारोबार अधिकतम कारोबार रेञ्जमा खुला भए पहिलो कारोबार ३४० रुपैयाँसम्म खुल्न सक्ने देखिन्छ । यद्यपी नेप्सेमा शेयर सूचीकरण भएको दोस्रो दिनमा नेप्सेले तोकेको कारोबार रेञ्जभित्र स्पेशल प्रि ओपन सेसनमा जति मूल्यमा पनि पहिलो कारोबार खुल्छ सोही अनुसार हरेक दिन प्रतिकारोबार २ प्रतिशत र प्रतिदिन १० प्रतिशतसम्म घटबढ भई नियमित कारोबारमा आउने गर्दछ ।

बैंकको आईपीओ लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा भैसकेको छ । बैंकको आईपीओ गत शुक्रबार साँझ नै लगानीकर्ताहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।

बैंकले यहि माघ २ गते देखि माघ ६ गते मंगलबारसम्म आपीओ निष्काशन गरेको थियो । जसमा १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर पाएका थिए भने ५० देखि धेरै शेयर माग गर्ने लगानीकर्ताहरुबाट ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथाबाट थप १० कित्ता गरी ६० कित्ता शेयर प्राप्त गरेका थिए ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, र ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि बाँडफाँड गरिएको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत