राजनीति

अब 'ग्रिन रिभोल्युसन' हुन्छ, १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नु नपरोस् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा फेरि शान्तिपूर्ण क्रान्ति हुन्छ, 'ग्रिन रिभोल्युसन' हुने बताएका छन् । 

प्रतिनिधि सभा विघटनविरूद्ध उक्त समूहले बुधबार राजधानीमा गरेको जनसभामा बोल्दै प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका छन् । 

उनले केपी ओलीलाई दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न आउन नपरोस् भनेर चेतावनी पनि दिएका छन् । उनले भने, '१० लाख जनता ल्याएर बालुवाटार र सिंहदरबार घेर्न आउनु नपरोस् । केपीको चुनावी नौटंकी हुनेवाला छैन ।'

'मलाई यहाँ खबर आएको छ, आज हाम्रो सभामा ५ लाख मानिस आएका छन् भन्ने एसएमएस आएको छ', उनले भने, 'हामी अब योभन्दा धेरै अर्थात १० लाख मानिससहित सिंहदरबार र बालुवाटार घेर्न आउने छौँ' प्रचण्डले भने । 

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठगीधन्दा चलाएको आरोप लगाए । उनले ओलीले ठगीका आधारमा राजनीति पनि गर्ने गरेको बताए ।

उनले ओलीको प्रतिगामी कदम पछिको अवस्था सर्वोच्च अदालत र न्यायाधीशहरुले समेत हेरेको भन्दै सर्वोच्च अदालतले न्याय, संविधान र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास रहेको बताए । 

‘लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका न्यायाधीशले पनि राम्रोसँग देख्नुभएको छ । जनताले के चाहेका छन्, यो जनभावनालाई हेर्नुभएको छ र ढिलो नगरी लोकतन्त्र र संविधानको पक्षमा फैसला दिनुहुनेछ’ प्रचण्डको भनाई छ । उनले जनताको भावनाविपरित केही काम गरियो भने दूर्भाग्य हुने चेतावनी पनि दिए । ‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ?’ प्रचण्डको प्रश्न छ । 

संवैधानिक निकायले गलत गरे देशले दुःख पाउने भन्दै उनले खुट्टा नकमाउन सचेत गराएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएपछि आयोगले गतिलो लक्षण नदेखाएको भन्दै उनले ३० दिने हदम्याद काइते तर्क मात्र भएको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत