राजनीति

देशमा प्रजातन्त्र बचाउन र देशलाई दुर्घटनाबाट जोगाउन जनतालाई विकल्प दिनु अनिवार्य छ

नुवाकोट । संविधान विपरीत चुनावको घोषणा गर्ने सरकारले राजनीतिक नियुक्ति गरेर निष्पक्ष निर्वाचनको धज्जी उडाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आपत्ति जनाएका छन् ।

‘चुनावको घोषणासँगै एकातिर संविधानको उपेक्षा गर्ने अर्कोतर्फ विकासको नाममा सयौं राजनीतिक नियुक्ति गरेर सरकार आफैंले निर्वाचनको निष्पक्षतामाथि प्रश्न चिन्ह खडा गरीदिएको छ,’ राप्रपा अध्यक्ष लोहनीले पत्रकार भेटघाटको क्रममा बुधबार भने ।

‘आफ्नै अक्षमताको कारण विकास खर्च कटौती गर्ने सरकारले बिना कुनै मापदण्ड तीन सयभन्दा बढी उपसचिव स्तरको राजनीतिक कार्यकर्ता भर्ती गर्नु गैरजिम्मेवारीको पराकाष्ठा हो । यो नै धाँधलीको सुरुवात पनि हो । यस्ता क्रियाकलापलाई संवैधानिक अंगहरुले नियन्त्रण गर्न नसक्ने हो भने देश दुर्घटनामा पर्ने निश्चित छ,’ लोहनीले भने ।

गृह जिल्ला आएका राप्रपा अध्यक्ष लोहनीले भने, ‘आम निर्वाचनपछि जनताले सुशासन र गुणस्तरीय आर्थिक विकासको आशा गरेका थिए । त्यो आशा चकनाचुर भएको छ ।’

राप्रपाले संवैधानिक राजसंस्था र पहिचानको लागि सनातन हिन्दुराष्ट्रको आवश्यक्ता ठहर गरेको उनले प्रष्ट पारे ।

‘सरकार जनताप्रति इमानदारी भएन, प्रतिपक्षले सरकारको जनविरोधी क्रियाकलापविरुद्ध आवाज उठाउन सकेन । यस अर्थमा सरकार र प्रतिपक्ष दुवै असफल भएका छन्,’ लोहनीले भने । ‘यस परिवेशमा देशमा प्रजातन्त्र बचाउन र देशलाई दुर्घटनाबाट जोगाउन राप्रपाले जनतालाई विकल्प दिनु अनिवार्य भएको छ ।’

गाउँ सहर डेस्क

तपाईँको मत