समाज

नेपालगञ्जमा बर्षेनी भ्रष्टाचारका उजुरी बढ्दै 

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल , सम्पर्क कार्यालय नेपालगञ्जमा बर्षेनी भ्रष्टाचारका उजुरी बढ्दै गएका छन् ।

बाँके, बर्दिया र दाङ कार्य क्षेत्र बनाएर काम गरिरहेको सम्पर्क कार्यालय नेपालगञ्जले चालू आर्थिक वर्षको ७ महिनामा ५ सय ८४ उजुरी परेको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यहाँ ५ सय ७५ उजुरी दर्ता भएका थिए ।

आयोगको ३० औँ स्थापना दिवसमा कार्यालयले पत्रकार भेटघाट गरी आफूले सम्पादन गरिरहेका कामहरूको विवरण प्रस्तुत गरेको हो ।

कार्यालय प्रमुख भेषराज रिजालका अनुसार आर्थिक बर्ष २०७५र७६ मा ५ सय ४२ उजुरी परेकोमा ३ सय १६ टुङ्गिएका थिए भने २ सय २६ बाँकी थिए । गत आर्थिक वर्षमा परेका ५ सय ७५ उजुरी मध्ये २ सय ५५ मात्र फर्छ्योट भएका थिए । त्यसमा ३ सय २० बाँकी थिए । जसमा हालसम्मको प्रगति ३१.९७ प्रतिशत छ ।

उजुरी मध्ये सबैभन्दा धेरै बाँकेका २ सय ४७, दाङका १ सय ६७ र बर्दियाका १ सय २४ थिए । उजुरीको प्रवृत्ति हेर्दा सबैभन्दा बढी स्थानीय तह, दोस्रोमा शिक्षा र तेस्रोमा भूमि प्रशासन सम्बन्धी छन् । अघिल्लो आर्थिक वर्षमा ६ वटा स्टिङ अपरेसन गरेको नेपालगञ्ज सम्पर्क कार्यालयले चालू आर्थिक वर्षका हालसम्म ३ वटा स्टिङ अपरेसन गरेको छ । कार्यालय प्रमुख रिजालका अनुसार त्यसमा बाँकेमा २ र दाङमा एउटा अपरेसन गरिएको थियो । उक्त अपरेसनबाट सात जना पक्राउ  परेका थिए ।

गाउँ सहर डेस्क

तपाईँको मत