अर्थतन्त्र

सरकारले बिनियाेजित बजेटको आकार एक खर्ब ३० अर्बले घटायाे

काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको अर्धबार्षिक समीक्षा सार्वजनिक गर्दै बजेटको आकार एक खर्ब ३० अर्ब घटाएको छ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको थियो । सरकारले करिब ९ प्रतिशतले बजेटको आकार घटाएको हो ।

यसमा प्रतिनिधि सभा निर्वाचनको खर्च, कोभिड विरुद्धको खोप खर्च, अनिवार्य दायित्व तथा पूर्व सहमति दिएका ठूला आयोजनाहरुको दायित्वलाई मध्यनजगर गरी राखिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

सरकारले चालुखर्च ९ खर्ब ४८ अर्ब ९४ करोडबाट घटाएर ९ खर्ब १४ अर्ब ७८ करोडमा झारेको छ । यस्तै पूँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोडबाट घटाएर २ खर्ब ८३ अर्ब ४ करोडमा झारेको छ । यसैगरी वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ८९ करोडको बजेटको आकार घटाएर १ खर्ब ४६ अर्ब ८६ करोडमा सिमित हुने अनुमान गरेको छ ।

यो खर्च व्यवस्थापनका लागि सरकारले राजश्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड र वैदेशिक अनुदानबाट ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब जुटाउने संशोधित अनुमान रहेको मन्त्री पौडेलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्च बढाउँदै पूर्वाधार विकासमा जोड दिने बताए । 

गाउँ सहर संवाददाता

तपाईँको मत