अर्थतन्त्र

अलैंची निर्यातजन्य वस्तुमध्ये पहिलो स्थानमा

काठमाडौँ । अलैंची निर्यातजन्य वस्तुमध्ये पहिलो स्थानमा रहेकाे छ । चालू आर्थिक वर्षको ६ महिनामा निर्यात भएका प्रमुख २० वस्तुमध्ये नगदे बाली अलैंचीको स्थान सबैभन्दा अगाडि रहेको हाे । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको ६ महिनामा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । गत वर्षको सोही अवधिमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो ।

नेपालको प्रमुख नगदेबालीका रुपमा अलैंची रहेको छ । नेपाली अलैंची कतार, चीन, भारत र युएई जाने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी नेपाली अलैंचीको बजार भारतले लिएको तथ्यांले देखाएको छ । अलैंची व्यवसायी महासंघका अनुसार कूल उत्पादनको ९८ प्रतिशत हिस्सा विदेशी बजारले लिएको छ । मुलुकको वैदेशिक व्यापारमा कूल निर्यातमा ६.२ प्रतिशत अलैंचीको योगदान छ । पछिल्लो समयमा नेपाली अलैंचीको उत्पादन व्यवसायीक हुन थालेपछि निर्यातमा योगदान बढ्दै गएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार दोस्रो बढी निर्यात हुने वस्तुमा धागो रहेको छ । चालू वर्षको ६ महिनामा ३ अर्ब ३ अर्ब ६५ करोड रुपैयाँको निर्यात भएको छ । कूल निर्यातमा धागोको योगदान ६ प्रतिशत योगदान छ । गत वर्षको सोही अवधिमा ३ अर्ब १९ करोड रुपैयाँको धागो निर्यात भएको थियो । त्यसैगरी तेस्रो स्थानमा रहेको गलैंचाको निर्यातमा २.८ प्रतिशत गिरावट आएको छ । चालू वर्षमा साढे ३ अर्बको कार्पेट निर्यात भएको राष्ट्र बैंकले जनाएको छ । 

गत वर्षको सोही अवधिमा ३ अर्ब ६२ करोड रुपैयाँको गलैंचा निर्यात भएको थियो । चालू वर्षको ६ महिनामा जुटका सामानहरूको निर्यात १४.८ प्रतिशत वृद्धि भएको छ । तयारी पोशाक, जुट, टेक्सटाइल, पश्मिना, हर्वल उत्पादन, जुत्ता चप्पल, अदुवा लगायतका वस्तुहरू उत्कृष्ट २० को सूचीमा छन् ।

निर्यात भएका वस्तुहरूमध्ये चालू वर्षमा गिरावट आएका वस्तुमध्ये जस्तापाता, तार, तामाको तारहरू, जुस तथा टेक्स्टाइल रहेका छन् । चालू वर्षको ६ महिनामा उत्कृष्ट २० वस्तुहरूको निर्यात २७ अर्ब ४ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा २४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । कूल निर्यात व्यापारमा यी २० वस्तुको योगदान ४५.१ प्रतिशत रहेको छ भने अन्य वस्तुहरूको योगदान ५४.९ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार चालू वर्षको ६ महिनामा ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ जसमध्ये २७ अर्ब उत्कृष्ट २० मा पर्न सफल वस्तुहरूको हिस्सा हो ।

नेपालको निर्यात व्यापार गन्तव्यको आधारमा भारततर्फ ८.४ र अन्य मुलुकतर्फ ४ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फको निर्यातमा भने ५० प्रतिशतले कमी आएको छ । कूल वस्तु आयात ४.८ प्रतिशतले घटेर ६ खर्ब ६१ अर्ब २५ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो आयात व्यापार ४ प्रतिशतले कमी हो । भारततर्फको आयातमा ३.५ प्रतिशत बृद्धि भएको छ भने चीनतर्फ १८.५ प्रतिशत र अन्य मुलुकको आयात व्यापारमा १७.४ प्रतिशतले कमी आएको छ । 

वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन, तेल, एमएस विलेट, सुन, दूरसञ्चारका उपकरण तथा पाटपुर्जा लगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाइजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, मेसिनरी तथा पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत