अर्थतन्त्र

कुल वस्तु निर्यात ६.१ प्रतिशतले वृद्धि हुँदा वस्तु आयात ४.८ प्रतिशतले घट्याे

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले वृद्धि भई रु.६० अर्ब ८० करोड पुगेको छ । तर वस्तु आयात ४.८ प्रतिशतले घटेकाे छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८ को ६ महिनाको तथ्याङ्कमा आधारित) सार्वजनिक गर्दै राष्ट्र बैंकले साे कुरा बताएकाे हाे ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले वृद्धि भई रु.६० अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ८.४ प्रतिशत र ४.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५०.० प्रतिशतले कमी आएकोछ । वस्तुगत आधारमा अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, पश्मिना, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर रु.६६१ अर्ब २५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.० प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ प्रतिशत र १७.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएकाे छ ।

यस्तै निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ५.८ प्रतिशतले घटी रु.६०० अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७७ पुस महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क २.२ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क १.४ प्रतिशतले घटेको छ । २०७६ पुस महिनामा ०.६ प्रतिशतले घटेको व्यापारको शर्त २०७७ पुस महिनामा ३.६ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत