अर्थतन्त्र

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

सिमकोट। उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ ।

हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ । दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर खर्च चलाउनका लागि सिमकोट गाउँपालिका–७ डाँडाफयाका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट पुगेका छन् ।

दाउरा बिक्री नगरेसम्म बिहान बेलुका घर परिवारलाई छाक टार्नका लागि समस्या हुने गरेको ती बालबालिकाले गुनासो गरेका छन् । अन्य दिन विद्यालय गए पनि शनिबारको दिन गाउँका प्रायः बालबालिका खर्च तथा आफ्नो कापी कलम किन्नका लागि भए पनि दाउरा बोकेर बिक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेका छन् ।

गाउँबाट आफूसहित घोडा खच्चड तथा झोपामा दाउराको भारी बोकाएर सिमकोटमा बिक्री गर्न आउँदा एक भारीको रु ५०० देखि रु १ हजारसम्म पर्ने गरेको स्थानीयवासी वीरबहादुर सिंहले बताएका छन् । हिउँदको चिसो मौसममा दाउराको माग बढी हुने भएकाले कसैले रुपैयाँमा बिक्री गर्ने गरेको र कोहीले चामलसँग दाउरा साट्ने गरेको उनले बताए । सिमकोटमा गाउँबाट पुर्याएको चार भारी दाउरा ९३० केजी० को एक कट्ठा चामलमा साट्ने गरेको सिंहले बताए ।

सिमकोटमा हिउँदको समयमा विद्युत् सेवा दैनिक १२ घण्टाभन्दा बढी अवरुद्ध हुने हुँदा दाउराको बढी प्रयोग हुने गरेको सिमकोटमा बसोबास गर्दै आएका राजबहादुर बोहराले बताए । सदरमुकाम सिमकोटमा दाउरा बोकेर बिक्री गर्न डाँडाफया, चौगनफया गाउँका नागरिक मात्रै नभएर खार्पुनाथ गाउँपालिकाको मजा, छिप्रा, याङ्चुलगायतका गाउँबाट आउने गरेको बोहराले बताए ।

हिउँदको समयमा हिमपात बढी हुने र दाउरा टिप्नका लागि वनमा जान नसकिने हुँदा गाउँबाट बिक्रीका लागि ल्याइएको दाउरा किन्नुपर्ने अवस्था रहेको उनले जानकारी दिएका छन् । विद्युत् नियमित नहुँदा सिमकोट बजारमा दाउराको माग बढेको हो ।

जिल्लामा गरिब तथा विपन्न बालबालिकाको जीवनस्तर माथि उठाउनका लागि बर्सेनि विभिन्न खालका अभियान, गोष्ठी, सेमिनार, तालीमजस्ता कार्यक्रममा लाखौँ रकम खर्च गरिन्छ । वास्तवमा बालबालिकासम्बन्धी नारा कागज र भाषणमै सीमित रहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत