गाउँ सहर

मन्दिरभित्र जुत्ता-चप्पल लगाएर जान नदिनुकाे पनि कारण छ नि

काठमाडाैं । सामान्यतया हामीहरू मठ, मन्दिर, गुम्बालगायत धार्मिक स्थल जाँदा मूलद्वारमा प्रवेश गर्नुअघि जुत्ता चप्पल बाहिरै खाेल्ने गर्छाैँ । धेरै ठाउँमा पनि निषेध नै गरिएकाे सूचना टाँसिएकाे पाइन्छ ।

यसरी धार्मिक स्थलमा प्रवेश गर्दा धर्म प्राप्ति हेतुले यस्तो गर्ने भए पनि यसको धार्मिक कारण पनि रहेको छ ।

जुत्ता चप्पलमा राजसिक र तामसिक धातुहरूको प्रधानता हुन्छ । यो धातु पातालबाट आउने नकारात्मक ऊर्जालाई पृथ्वीको वातावरणमा मिसिनकाे लागि माध्यम बन्छ ।

मन्दिर, गुम्बा परिसरमा चारैतर्फ ईश्वरीय प्रभावको फलस्वरूप सात्विकता र चैतन्यको वातावरण हुन्छ । यस्तो पवित्र वातावरणमा जुत्ता चप्पलले पातालको नकारात्मक ऊर्जा मन्दिरमा ल्याएर अपवित्र गराउँछ ।

जुत्ता चप्पलमा धूलो र हिलो पनि टाँसिएको हुन्छ । धूलोका कणहरूले मन्दिरमा नकारात्मक ऊर्जा फैलाइदिन्छन् । जुत्ताचप्पल लगाउने शौचदेखि फोहोर स्थानमा समेत पुगिने हुदा त्यसलाई अशुद्ध मानिन्छ । अशुद्ध वस्तुको धारण गरेर मन्दिर पस्दा भगवान प्रतिको सर्मपण र पुजन विधिमा ध्यान केन्द्रित नहुने मान्यता छ । जुत्ता चप्पल लगाउने व्यक्तिको मानसिक स्तर पनि एक विशेष प्रकारको स्थितिमा हुन्छ ।

महँगो जुत्ता चप्पल लगाउने व्यक्तिमा एकखाले घमण्ड हुन्छ । हाम्रो समाजमा जुत्ताबाट धनी गरीब छुट्याउने पनि गरिएको छ । मन्दिरभित्र धनी र गरीबका बीचको फरक नछुट्टियोस् भन्नका लागि पनि जुत्ता चप्पल बाहिर खोलिएको हो ।

जुत्ता चप्पल बाहिरै खोल्दा हामी आफ्नो पहिचानजन्य अहंकारलाई पनि बाहिरै उतार्छौं र ईश्वरप्रति आफूलाई समर्पित गर्ने भाव बनाउँछौँ । मन्दिरको वातावरण सात्विकताका कारण सधैँ शीतल हुन्छ ।

हामीले नाङ्गाे खुट्टाका साथ मन्दिरको प्राङ्गणमा प्रवेश गर्दा त्यो शीतलतालाई पूरै शरीरमा महसूस गर्छौं । यसले तन र मन दुवैमा शीतलता छाउँछ । यिनै आधारहरूका कारण मन्दिरहरूमा जुत्ता चप्पल लगाएर जान वर्जित गरिएको हो ।

गाउँ सहर डेस्क

तपाईँको मत