गाउँ सहर

आध्यात्मिक जागरणसँगै विद्यालय सञ्चालनसम्मको यात्रामा पोखराको राधाकृष्ण मन्दिर

पोखरा । धार्मिक सङ्घ संस्थाको स्थापना मुख्यतः आध्यात्मिक जागरणमा नै केन्द्रित हुन्छ । पोखरा महानगरपालिका वडा नं ३२ लामोआहालस्थित राधाकृष्ण मन्दिर यस्तै आध्यात्मिक जागरण सहित निम्बार्क साम्प्रदायको बिस्तार गर्ने लक्ष्यका साथ २०२२ सालमा स्थापना भएको हो । श्री राधाकृष्ण मन्दिर शान्ति आश्रमका रुपमा रहेको यो संस्था धार्मिक रुपमा मात्र नभै सामाजिक रुपमा पनि उत्तिकै कृयाशील देखिएको छ ।

मन्दिर स्थापनाको पाँच दशक भन्दा बढी भईसकेका अवस्थामा यहाँको राधाकृष्ण मन्दिरसँगै यसको सकृयतामा राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय केही वर्ष यता सञ्चालनमा आइसकेको छ । २०७० सालमा स्वीकृति प्राप्त गरी २०७१ सालबाट सञ्चालनमा आएको यस विद्यालयमा कक्षा ६ देखि १० सम्मको अध्ययनअध्यापन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले बताए ।

मन्दिर परिसरमा बृद्धाश्रमका साथै गौशाला समेत रहेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले जानकारी दिए । मन्दिरको लामेआहालमा लगभग ५२ रोपनी जग्गा रहेको छ ।

मन्दिर स्थापना भएपछि नेपालका निम्बार्क सम्प्रदायका संस्थापक भगवतशरण देवाचार्य बृन्दाबनबाट फर्केर २००८ सालमा स्याङ्जा, पाल्पा र तनहुँको संगम केलादीघाटमा निम्बार्क पीठ स्थापना गरी यस सम्प्रदायको प्रचारप्रसारमा लागेका थिए । नेपालमा लगभग चार लाख जति निम्बार्क सम्प्रदायका अनुयायी रहेको अनुमान गरिएको छ । लामेआहालमा राधाकृष्ण मन्दिर स्थापनासँगै यस क्षेत्रमा निम्बार्क सम्प्रदायको विस्तार, बृद्धाश्रम, गौशाला आदिको स्थापना हुँदै विद्यालय समेत स्थापना हुनु आफैंमा महत्वपूर्ण उपलब्धि भएको जानकारहरु बताउँछन् ।

राधाकृष्ण मन्दिर स्थापना भएसँगै यहाँको पीठाधिशको जिम्मेवारी २०२२ देखि भगवतशरण देवाचार्य, हरिदाश देवाचार्य, शखीशरण भण्डारी, लक्ष्मीशरण पौडेल र मुकुन्दशरण उपाध्यायले प्राप्त गरिसकेका छन् । मन्दिरको सकृयतामा बृद्धाश्रम तथा विद्यालय सञ्चालनमा ल्याइएपनि यसको खर्च व्यवस्थापन भने विभिन्न दानदातव्यबाट भैरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बृद्धाश्रममा ५० जनाको संख्याका ज्येष्ठ नागरिक रहेका छन् । 

 विद्यालयमा संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही पठनपाठन भैरहेको छ विभिन्न जिल्लाबाट आएका ३० जना विद्यार्थी आवाशीय रुपमा अध्ययन गरिरहेका छन् । विद्यालय सञ्चालनका लागि पोखरा महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाबाट लगभग सात लाख रुपैयाँ वार्षिक अनुदान आउने गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत