गाउँ सहर

कास्कीको मादी गाउँपालिका केन्द्र विवादको निकास दिन गाउँसभा र सर्वदलीय बैठक बोलाउन लेखा समितिको माग

पोखरा । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने निर्णय सम्बन्धमा तत्काल गाउँसभा र सर्वदलीय बैठक बोलाउनुपर्ने गाउँपालिका लेखा समितिले माग गरेको छ ।

लेखा समिति संयोजक सरोज केसीले आज आइतबार विज्ञप्ति जारी गर्दै केन्द्र सार्ने विवादबाट उत्पन्न असहज परिस्थितिले गाउँपालिका कार्यालय समेतमा तालाबन्दी गरिएकोले निकासका लागि सो माग गरेका हुन् ।

हाल याङ्जाकोटमा रहेको गाउँपालिकाको केन्द्र बेतनी सार्ने सम्बन्धमा गाउँपालिकाले प्रदेशमार्फत संघ सरकारसमक्ष सिफारिस गरिएपछि स्थानीय सोको विरुद्धमा तालाबन्दी गरेका हुन् । तालाबन्दीले ६ दिनदेखि दैनिक कामकाज ठप्प हुन पुगेका छन् ।

यसै सम्बन्धमा लेखा समिति संयोजक केसीले विज्ञप्तिमार्फत तत्काल निकास दिन तत्काल वार्ता र छलफलका लागि गाउँसभा र सर्वदलीय बैठक बोलाउन माग गरेका हुन् । गाउँपालिका केन्द्र निर्धारण विषय निर्वाचित भएको मितिले सुरुको ६ महिनाभित्र सामान्य बहुमत र त्यसपछिको निर्धारण दुइतिहाइको बहुमतले पारित हुने कुरा स्थानीय सरकार संचालन ऐन, २०७४ र संघीय कानुनले प्रष्ट पारेको छ । केसीले समस्या समाधानका लागि उनले सात ओटा सुझाव पनि दिएका छन् ।

राज्यको पुनर्संरचनाअन्तर्गत कास्कीका साविक पार्चे, नामार्जुङ, थुमाकोडाँडा, कालिका, सिल्दजुरे, मिजुरेडाँडा, भाचोक, सैमराङ, माझठाना, हंशपुर गाविस मिलेर मादी गाउँपालिका बनेको हो । गाउँपालिकाका हाल १२ वडा कायम छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत