समाज

स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई जना भारतीय प्रहरी नियन्त्रणमा

कलैया । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई जना भारतीयलाई नियन्त्रणमा लिएको छ ।

शनिबार फेटा गाउँपालिका वडा नम्बर ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।

बिआर ०५थ ६४१७ नम्बरमा सवार भारत विहार जिल्ला मोतिहारी थाना हंशपुर ग्राम पञ्चायात वडा नम्बर १० घोडासहान बस्ने २६ वर्षीय अरबिन्द महतो र १४ वर्षीय नाम परिवर्तित खम्बालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

कपडाको झोलामा लुकाइछिपाइ एक हजारको १ हजार ९२३ थान, ५०० को ५ हजार ७०४ थान, १०० को १हजार २०० थान र ५० को १०० थान रुपैयाँसहित नेपाल आइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको  हो । 

यस कारोबारमा नेपालीको पनि सहभागिता रहेको हुनसक्ने हुँदा चाँडै नै तिनीहरुलाई कानुनी दायरामा ल्याउने उपरीक्षक शाहीले बताए । पक्राउ परेका दुवै जनालाई सम्पत्ति शुद्धीकरण विभाग काठमाडौँमा पठाउने प्रहरीले जनाएको छ । पक्राउ परेका हकमा बिगोको दोब्बर र दुई वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।  

गाउँ सहर डेस्क

तपाईँको मत