अर्थतन्त्र

चन्द्रागिरीको शेयर दोस्रो बजारमा खरिद बिक्री सुरु, निफ्राको आईपीओ सेयरधनीको डिम्याट खातामा जम्मा 

काठमाडौँ । चन्द्रागिरी हिल्सको माघ २५ गते आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा शेयर खरिद बिक्री सुरु भएको छ । कम्पनीको पहिलो कारोबार नेप्सेले तोकेको तल्लो विन्दुबाट सुरु भएको छ ।

चन्द्रागिरी हिल्सलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९६.६९ रुपैयाँ देखि २९०.०७ रुपैयाँसम्म रेन्ज तोकेको थियो ।

आइतबार प्रि—ओपन सेसनमा यस कम्पनीको १० कित्ता शेयर प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर (आइपिओ) सेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरू भएको छ ।

हाल कम्पनीको उक्त आइपिओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन्  । कम्पनीको आइपिओलाई सेयर कारोबार गर्नका  NIFRA सिम्बोल प्रदान गरिएको छ ।

नेप्सेले बैंकको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आर्थिक वर्ष २०७६—७७ को  प्रतिसेयर नेटवर्थ ११३ रूपैयाँ ६२ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३४० रुपैयाँ ८६ पैसा हुन्छ ।

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत