गाउँ सहर

सभामुख सापकाेटाद्वारा दायर मुद्दामाथि आज सुनुवाइ हुँदै

काठमाडौं । वैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथी आइतबार सुनुवाइ हुँदैछ ।

मंसिर ३० गते आफ्नो उपस्थितिबिना बसिएको बैठकबाट ल्याइएको अध्यादेशमार्फत गरिएको नियुक्ति गैरकानुनी भएको जिकीर गर्दै सापकोटाले रिट दर्ता गराएका थिए । यसरी गरिएको सिफारिसअनुसार बुधबार राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक परिषद्‌मा सिफारिस सबै पदाधिकारीलाई सपथ गराएका थिए ।

सभामुख सापकोटाले राष्ट्रपति कार्यालयसहित ३९ जनालाई विपक्षी बनाएका छन् । संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, सदस्य एवं प्रधानन्यायाधीश राणा तथा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र नियुक्ति पाएका व्यक्तिहरुलाई रिटमा विपक्षी बनाइएको छ । अख्तियार, मानव अधिकार आयोगलगायत निकायमा ३४ जनाले सपथ लिएका थिए ।

सभामुख सापकोटाले संसदीय सुनुवाइ बिना नियुक्ती गरेर राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लंघन भएको बताएका छन् । उनले आफूले कागजात फिर्ता गरेपछि संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्था हुँदा हुँदै नियुक्ति गरिनु संविधान विपरित भएको सापकोटाको दाबी छ । 

सभामुख सापकोटाले संसद बैठक बोलाउने विषयमा सबै पक्षसँग सल्लाह परामर्श गरिरहेको पनि बताएका छन् ।  सभामुख सापकोटाले स्वेच्छाचारी ढंगले संविधान माथि खेलवाड गर्दै संविधान विपरितका काम थपिदै जाँदा भयावह अवस्थाको सिर्जना हुन सक्ने भन्दै आफूले त्यसो हुन नदिन प्रयास गरिरहेको बताएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत