गाउँ सहर

लायन्स क्लबले दिएकाे एम्बुलेन्स मिलेमताेमा बिक्री !

मोरङ । विराटनगर र लायन्स क्लब अफ बेलबारीले खरिद गरेको एम्बुलेन्स संस्थाकै सदस्यको मिलेमतोमा बिक्री भएको खुलेको छ । शुक्रबार संस्थाका वर्तमान अध्यक्ष खेमप्रसाद गौतमले विराटनगरमा पत्रकार सम्मेलनमार्फत संस्थाकै सदस्यको मिलेमतोमा एम्बुलेन्स बिक्री भएको खुलासा गरेका हुन् ।

लायन्स क्लब बेलबारीले सन् २०११ मा सांसद् विकास कोषको ३ लाख र संस्थाका सदस्यमार्फत रकम सङ्कलन गरेर एम्बुलेन्स खरिद गरेको थियो । तर एम्बुलेन्स खरिद गरेको एक वर्ष नपुग्दै बिक्री गरिएको थियो ।

३ बैशाख २०७० मा सालमा बेलबारी नगरपालिकाका हालका प्रवक्ता तथा वडा–३ का वडाअध्यक्ष योगेन्द्र सुवेदीको संयोजकत्वमा बिक्री भएको पाइएको हो । को १ च ५७४९ नम्बरको एम्बुलेन्स तत्कालीन लेटाङ गाविस वडा–५ का भक्तबहादुर राईलाई नौ लाख २५ हजारमा बिक्री गरेको पाइएको हो ।

बिक्री भएको यत्रो समय हुँदासमेत खोजी नभएको भन्दै पत्रकार सम्मेलनमार्फत् जानकारी गराउन बाध्य भएको वर्तमान अध्यक्ष खेमप्रसाद गौतमले बताए । समुदायको हितका लागि राजश्व छुटमा खरिद गरेको एम्बुलेन्स केही व्यक्तिहरूले आफ्नो स्वार्थका लागि बिक्री गरेको भन्दै उनले भने, ‘सांसद् विकास कोषको रकमसमेत हिनामिना भएको देखिन्छ ।’

एम्बुलेन्स बिक्री भएको लामो समय हुँदासमेत हरेक वर्ष निर्वाचित हुने अध्यक्षले खोजी नगरेको र आफूले नेतृत्व गरेपछि खोजी गरेको बताउँदै गौतम भन्छन्, ‘बारम्बार पुरानो समितिलाई सोधिखोजी गर्दा वेवास्था र गैरजिम्मेवार जवाफ दिनेगरेको छ ।’ यसबाट हिनामिना भएको प्रष्ट देखिएको उनको भनाइ छ ।

बिक्री भएको एम्बुलेन्स जुनसुकै अवस्थामा जहाँ भएपनि बेलबारीमा ल्याउनै पर्ने क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एम्बुलेन्स फिर्ताका लागि जस्तोसुकै कदम उठाउन पनि तयार रहेको क्लबले बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत