दृष्‍टिकोण

ओली बड्डाले प्रचण्ड-नेपाललाई दनक दिइरहँदा देश र जनताको दुःख किन कुनामा थन्क्याए ?

[गरिबहरुको बेप्रयोगमा ओली सबैभन्दा अगाडि]

तस्बिरः बिष्णु रिमाल ।

काठमाडौँ । प्रतिनिधि सभा विघटन गरेपछि प्रतिगमनकारी कदम चालेको आरोप खेपिरहेका प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली समूहले शुक्रबार नारायणहिटी दरबार संग्राहलय अगाडि दरबारमार्गको सडकमा सभा सम्पन्न गरेको छ ।

नारायणहिटी अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाललाई दनक दिइरहँदा निर्मल निवासमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले के सोचे होलान्, थोरैले मात्र यो विषय सोचेको सम्म होला ।

उनलाई छट्पटि पनि भयो होला अनि ओलीको साहसको कदर पनि गरे होला वा दुबै । ओलीका भाषण सुन्न हजारौँ उनका समर्थकहरु सडकमा थिए र गडड ताली बजिरहेकै थियो ।

विहानैदेखि राजधानीका गल्ली गल्ली र मुख्य चोकहरुबाट निस्किएका केपी ओली समर्थकहरु जिन्दावादमा व्यस्त थिए । सडकहरु जाम थिए भने काम गर्न जानेहरु निकै ढिला गरी हाजिर गर्न पुगेका थिए ।

केपी बड्डाको यो र्यालीमा पनि तिनै गरिबहरुको बेप्रयोग छ्याप्छ्याप्ती देखिन्थ्यो जुन अरु दलका र्यालीमा पनि उपस्थित हुन्थे र भइरहेका छन् । यसरी गरिबकाे बेप्रयाेग गर्नेमा उनी सबैभन्दा अगडि देखिएका छन् । किन पनि नहुन खेलाडि न परे ।

नारायणहिटीमा उनी लामै गर्जे । गर्जिन्जेल भब्य तालीको स्वागत थियो । उनका टुक्काले उत्तिकै काम गर्याे याे सभामा पनि ।

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले आमसभामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाइरहेको फेहरिस्त सुनाएका थिए । 

ओली समूहले राजधानीमा गरेको सभामा ओलीले चौतर्फी रुपमा देश विकासको काम भइरहेको बताउँदै देशका विभिन्न स्थानमा विकासका काम भइरहेको बताउन उनले भ्याए । धेरै आयोजनाहरु बनिसकेको, दिनदिनै विकासे आयोजनाको उद्घाटन भइरहेको उनले बताए । तर उनले बिर्से नेकपाको चोइटा भएदेखि देशका जनतालाई कति दुःख दिएँ भन्ने । उनले बिर्से, दुई नेकपाका चोइटाले लाजमर्दो स्थिति पैदा भएको र दुईको सनकले देशलाई घाटा लागेको अनि व्यवस्थाको धज्जी उडेको । मनलागि नियुक्ति र कार्यकर्ता गाउँदेखि सहरसम्म सरकारका विभिन्न निकायमा छिराएकाे उनले भनेनन् ।

समर्थकको वाहिवाहि र विरोधीको विरोध नै विरोध यी दुई पाटा बजारमा देखिन्थे । दुबै पक्षलाई गुण्डागर्दीको राम्रै अनुभव छ जुन देखाइरहेका पनि छन् । दुबै पानी माथिका ओभानो बन्ने प्रयास गरिरहेछन् । प्रमुख प्रतिपक्ष यो देशमा छैन भने पनि हुन्छ । कतिबेला झर्छ र खाउँ भनेर बसेको छ जसले देशको झनै धज्जी उडेको छ । समग्रमा नेकपाको झगडाले गाउँका वडादेखि सहरको गल्लीसम्म तनाव मात्र थपेको छ, विनासमात्र सिर्जना गरेको छ । यीनको झगडालाई दुनियाँले सहिदिनु परेको छ । योभन्दा बिडम्बना अरु केहि होला ?

प्रम ओलीले सभामा उपस्थिति संख्याले आफ्नो समूहको आधिकारिकता पुष्टि गरेको र आफ्नो पार्टी नै मुल पार्टी रहेको दावी गरे । उनले केहि कुरामा आफ्नो गल्ति नभएकै कुरामा एकोहोरो दावी गर्दै आगामी फागुन १ गते बुटवल र ८ गते फागुन १ गते बुटवल र ८ गते विराटनगरमा अर्को कास्टिङ देखाउँछौँ भनेर धमाससम्म दिन भ्याए । 

उनले सभामा देश निर्वाचनतर्फ उन्मुख भइसकेकाले निर्वाचनले नयाँ सरकार बनाउने बताए । देशलाई भड्खालोमा हाल्न सरकारलाई ५ वर्ष चलाउन नदिएको बताए ।

यी सब बताइरहँदा समर्थकलाई उनले पुनः पङ्गू बनाइरहे । ताली बजिरह्यो । देश समृद्ध बनिरहेको उनको कुराले जनताको मन भने पोलिरहेको थियो । दुई नेकपाको घानमा समग्र देशलाई उनले हालेको अप्सनी उनले लूकाइरहे । समर्थकले यहि समाचार बनाइरहे अनि हेर्नेले त्यहि हेर्दै हाँसिरहे । असली जनता रोएको यो सभाले पनि ढाकछोप गरिरह्यो । सबैले बिर्से खान पाएकाहरुको जुलुसले देश बन्दैन, देश बन्नलाई त असली गरिबको समर्थन चाहिन्छ भनेर ।

हामी निरिह बनेका छौँ । यो क्रम दोहोरिइरहन्छ अनि हामी साथ दिइरहन्छौँ । किनकी गरिब र गरिबी यहाँ जताततै र आवश्यक परेको बेला किन्न र बेच्न यहाँ सम्भव छ । त्यसैको फाइदा चतुर नेताले लिइरहने छन् । 

तथास्तु ।

गाउँ सहर डेस्क

तपाईँको मत