राजनीति

प्रधानज्यूलाई फेरीपनि मेराे अनुराेध छ- प्रदेश सरकार खारेज गराैँ !

काठमाडाैं । विघटित प्रतिनिधिसभा सदस्य निरुदेवी पालले संघीयता खारेजीका लागि फेरि एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छिन्।

नेकपा ओली समूहकी नेतृ पालले सानो मुलुक नेपालले संघीयताको भार थेग्न नसक्ने भएकोले स्थानीय सरकारलाई बलियो बनाउँदै प्रदेश संरचना खारेज गर्न आग्रह गरेकी हुन्।

उनले संघीयता सेतो हात्ती भएको उल्लेख गर्दै यसको खारेजीको मुद्दा लिएर जनतामा गए राम्रो हुने सुझाव पनि प्रधानमन्त्री ओलीलाई दिएकी छन्।

प्रधानमन्त्री ओलीले आज काठमाडौंमा हुन जनसभालाई सम्बोधन गर्दै छन्। उक्त सभाको पूर्वसन्ध्यामा प्रधानमन्त्री निकट नेतृ पालले संघीयता खारेजीको मुद्दा लिएर चुनावमा जानुपर्ने सुझाव दिएकी हुन्।

पालले यसअघि पनि प्रधानमन्त्रीलाई संघीयता खारेजीका लागि हिम्मत गर्न आग्रह गरेकी थिइन्।

बिहीबार साँझ पालले फेसबुकमा लेखेकी छिन्, ‘ सम्माननीय प्रधानज्युलाई फेरिपनी मेरो अनुरोध छ। मलाई पार्टीले कारबाही गरे पनि गरोस् कुनैदिन टिकट पाएछु र जनताले हराए छन् भने पनि ठिकै छ सहुँला तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकामा विदेसीको ऋण छ तसर्थ प्रधानमन्त्रीज्यु यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन मुठ्ठीभर नेता त खुसी छौं कोही मुख्यमन्त्री कोही प्रदेश मन्त्री कोही सांसद छौं। तलब भत्तामै देशको ढुकुटी नसिध्याऔं। जनताले चाहेको अधिकारको विकेन्द्रीकरण हो बरू स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं जनताको घरदैलामा सर्वसुलभ ढंगले सेवा पुर्‍यायौं। तर प्रदेश सरकार खारेज गरौं। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं। सम्माननीय प्रधानमन्त्रीज्यु, तर हाम्रो मुलुकले यत्रो तामझाम व्यहोर्न सक्दैन नेताहरूको सुरक्षा पनि कटौती गरौं सम्माननीय प्रधानमन्त्रीज्यु यही एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ। मेरो अनुरोध हजुरलाई।’

गाउँ सहर संवाददाता

तपाईँको मत