सडक/यातायात

पोखराको तालचोक देखि बेगनास सम्म नमूना सडक बन्ने

पोखरा  । पोखराको लेखनाथस्थित तालचोक देखि बेगनासताल सम्मको सडक अव नमूना सडक बन्ने भएको छ । १ अर्ब ६० करोड ५० लाखको लागतमा विस्तार हुने यो  सडक प्रति किलोमिटर लागतको आधारमा यो क्षेत्रमै सबैभन्दा महँगो हुनेछ ।

विश्व बैँकको आर्थिक सहयोगमा बन्न लागेको उक्त सडकको डिपिआर समेत तयार भैसकेको पोखरामा आयोजित कार्यशालामा जानकारी गराइएको हो । ३.२८ किलोमिटरको उक्त सडक चार लेनको हुनेछ । सडक दाँयाबायाँ साइकल ट्र्याक, पैदल मार्ग, व्यवस्थित नाला, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने प्रोजेक्ट इन्जिनियर नवराज बोहोराले जानकारी दिए । सडकमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले वर्षौँदेखिको सपना पूरा हुन लागको भन्दै उक्त सडक महानगरको नमुना र गौरवको सडक बन्ने बताए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत महेश बरालले आयोजनाको लागत नबढ्ने गरी काम गर्न आग्रह गरे ।

सो अवसरमा ईन्जिनियर हेमन्त काफ्ले, र नवराज बोहोराले सहभागीहरुले राखेका विभिन्न जिज्ञाशाहरुको जवाफ दिए भने नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका परियोजना निर्देशक परिक्षित कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर मन्जुदेवी गुरुङ, पोखरा महानगरका शहरी योजना आयोगका सदस्य आर्किटेक्ट बाबुराम भण्डारी, बरिष्ठ ईन्जिनियर शारदामोहन काफ्ले लगायतको सहभागिता रहेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत