समाज

दुई शहीदको शालिक चोरी

महोत्तरी । जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको शहीदको शालिक चोरी भएको छ । मधेश आन्दोलनका दुई शहीदको शालिक गए राति चोरी भएको हो ।

मधेश आन्दोलन २०७२—७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका —११ का वीरेन्द्र विच्छा र वडा नम्बर ९ का राजेश ठाकुर दुवै जनाको शालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।

वडा नम्बर ११ र वडा नम्बर ९ को साझा चोकको रुपमा रहेको परिकौली चौकमा ५—७ फिट अग्लो बुर्जामाथि राखिएको दुवैजनाको प्रतिमा आज बिहान राखिएको स्थानमा नरहेको वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र यादवले जानकारी दिए । 

वडाध्यक्ष यादवले गए राति ११—१२ बजेसम्म शालिक चोकमै रहेको स्थानीयवासीको भनाई रहेको छ । स्थानीयवासीले मदिरा सेवन गर्नेहरुले शालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोली परिचालन गरी शालिकको खोजतलाश भइरहेको र घटनामा संलग्न व्यक्तिको पनि खोजतलाश भइरहेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत