दृष्‍टिकोण

नेकपाकाे नाैटंकीले देश कता जाँदैछ ? अबकाे आन्दाेलन र नेतृत्व कसले लेला ?

नगर्नेकै पछाडि जनता फेरि किन सडकमा ? हामी कहिले सुध्रने ?

काठमाडाैँ । देश अब बन्ला, सरकार दह्राे बनायाैँ भन्न पाइएन । पुनः पदीय खिचातानीले नेकपा फ्याक भयाे र उसैकाे उद्धारकाे लागि जनतालाई पुनः सडकमा उतारिएकाे छ । धेरै जानेकाे शब्द बन्दलाइ पूनर्ताजगी गरिएकाे छ । उनै गरिबलाई बेप्रयाेगमा लादिएकाे छ । हामी भाेकाे छाैँ खान पाउँदा सडकदेखि सदनसम्म भिड पार्नमा निस्किएका छाैँ ।

न देशीय संस्कार बन्याे अनि सिकियाे, पुनः अगतिला गतिविधि सञ्चालन हुनु देशकाे दुर्भाग्य बनेकाे छ । चारैतिर टायर जल्न थालेका छन्, एम्बुलेन्समा ढुंगा हान्न थालिएकाे छ अनि गरिबकाे ट्याक्सी आगजनीमा परेकाे छ । हामी ताली लगाइरहेका छाैँ ।

प्रतिनिधि सभा विघटन पछिकाे दृश्य हाे याे । यसभन्दा अघिका हावाका गफ, जहाजका सपना र गाैरवका आयाेजनाकाे कुराकाे त यहाँ नसमेटाैँ । लेख्न सकिँदैन किनकी याे सरकार जत्तिकाे थुतुनाेमात्र चलाउने कुनैपनि अरू भएनन् । गफका पाेका घरघरमा छिराए, व्यवहारमा शुन्य । पछिल्लाे देशमा देखिएकाे नेकपाकाे सत्ता नाैटंकी हाे । जनताले थप दुःख पाइरहेकाे यी सत्तापक्षीय कारण नै हाे । त्यसमा पनि पदीय लडाइँ । हामी जनताले बुझेका छाैँ तरैपनि साथ दिइरहेका छाैँ । हामीले सिकेनाैँ र सिकाएका छैनाैँ ।

देशमा काेहि विधिकाे नाममा लुट्ने, काेहि छुरा बाेकेर लुट्ने, सरकार व्यापार गर्ने र अपराधीलाई संरक्षण गर्ने । भन्नुहाेस् याे पाराले देश बन्छ ? अझै आशा छ ? बाटाे बनेन, पानी खान पाइएन, बिजुली छैन, दुरसञ्चार छैन भनेर कुनैदिन याे देशमा टायर जले ? नेपाल बन्द भए ? अनि के आशामा दलीय स्वार्थकाे बन्दमा साथ दिँदैछाैँ हामी ? विकासकाे लागि बन्द गर्न कहिल्यै सिकेनाैँ । नेताकाे पदकाे लागि बन्दमा उत्रिएका छाैँ । कसरी बन्छ देश ? एकदिन नेपाल बन्द हुँदा कति अर्ब घाटा हुन्छ अनि कति गरिबकाे छाक कट्छ यीनले कहिल्यै साेचे ?

गरिबलाई यीनले सधैँ माछा र मिठाेकाे भूलभूलैयामा पारे तर माछा मार्न र मिठाे बनाउन कहिल्यै सिकाएनन् । हुँदा हुँदा व्यवस्थाकाे नै धज्जी उडाउँदै गलत संस्कार आउँदाे पीँढिलाई सिकाउँदैछन्, के यसरी देश बन्छ ? बिग्रीएकाे संस्कार सपार्नुपर्नेमा झनै बिगार्दै जानाले देशकाे भविश्य अन्याैल बन्दै गएकाे छ । अब त जसकाे पछाडि हिँडेकाे छ उसलाई नै तालाचावी सुम्पिँदैछ सरकार । यसकाे प्रत्यक्ष उदाहरण पछिल्ला नियुक्तिहरू हुन् ।

पदकाे लागि नेपाल बन्द गर्दा राज्यकाे घाटा र प्रतिव्यक्ति ऋणकाे दर घट्छ ? यहि गर्दा नै अहिले ४६ हजार ३५४ रूपैयाँकाे भारी प्रत्येक जनताले टाउकाेमा बाेक्नु परेकाे छ । संगै बस्न नसक्नेले फूटेर बसाैँ तर पार्टीकाे झगडाले देशलाई बर्बाद नपाराैँ । थप प्रणाली ध्वस्त नपाराैँ, पछिल्लाे पूस्ताले थप सराप्ने अवस्था नबनाउँ ।

अघिल्लो वर्षसम्म नेपालमा कुल ५६ लाख गरिबीको रेखामुनिको जनसंख्या रहेकोमा कोरोनाभाइरस महामारीपछि त्यो संख्या बढेर ६८ लाख पुगेको छ । महामारीका कारण वैदेशिक रोजागारीमा रहेकाहरू स्वदेश फर्किनु परेको र देशभित्रै पनि कैयौँले रोजगारी गुमाउनुपरेको अवस्था सिर्जना हुँदा बेरोजगारको सङ्ख्यामा पनि निकै वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । गएको असारसम्ममा अनुमानित १६ लाख मानिसहरूले रोजगारी गुमाएको उक्त अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोगका अनुसार कोरोनाभाइरस महामारीले नागरिकलाई बढी असर पारेको छ । त्यसपछिकाे तथ्यांक भने अहिलेसम्म अपुष्ट नै छ ।

यस्ताे विषम अवस्थामा झन देशले नयाँ याेजना बनाउला, प्रगतिकाे बाटाे तय गर्ला भन्ने समयमा सरकारपक्षकै लडाइँका कारण देश झनै ५० वर्ष पछाडि धकेलिँदै छ । यसकाे सम्पूर्ण दाेस नेकपाकै हाे । तरैपनि हामी थप उत्साहित बन्दै बन्दकाे समर्थन गरिरहेका छाैँ, याे बिडम्बना भएकाे छ ।

दलहरूले कयौँपटक प्रतिवद्धता र प्रण गरे देशमा स्थिरता ल्याउने बारेमा । तर, कुकुरको पुच्छर बाह्रवर्ष ढुंग्रोमा राखेपनि बाङ्गै भनेजस्तै कार्यान्वयन गर्दैनन् । एकदिनपनि टिक्दैनन् आफ्ना निर्णयहरूमा अनि दुःख दिन थालिहाल्छन् दलहरू । यहि दलका गलत कार्यले अन्य समूह, पेशागत संगठन र अन्य साना गुच्छा, गर्दा–गर्दा व्यक्तिले आन्दोलनको कार्यक्रम राख्नाले सबै क्षेत्रमा अस्तव्यस्ताा मौलाएको थियो र छ ।

पछिल्लो सरकार र व्यवस्थाले कम गर्छ कि भन्ने आशा थियो त्यो पनि तुहिएको छ । सरकार बहुमतीय भएपनि व्यक्तिको लहड र सनक उस्तै छ । हामी जनतापनि उस्तै बिग्रँदै गएका छाैँ । किनकी मूल नै सफा नभएपछि छत्रछायाँ त बिग्रने नै भए ।

जीवनस्तर बढाउनुपर्ने, खुसी हुनुपर्ने, मुलुक सम्मृद्ध हुनुपर्ने, सफलता हाता लगाउनुपर्ने बेलामा जहिल्यै भगडाको वीउ रोप्नमै व्यस्त भई घाटाको जीवन बिताउन तल्लिन छौँ हामी । तर हामी उनैलाई यी सब कुराहरू प्रदान गरेका छाैँ, आफू नांगाे बनेर । अर्काको उदाहरण दिन रमाउने यी मुखहरूमा आफ्नो देश विकासमा चाहिँ विनासी शैलीको समर्थन गर्न हामी खप्पिस भएका छौँ । अनि हामी नै आशा गर्छौँ, अविकासका पक्षधरहरूबाट विकासको चाहना ।

पदीय प्राप्तिको लागि दलहरुबीच आन्तरिक किचलोले देशलाई न दुइतिहाई न विकास । असारे विकास झनै बढेको छ, अबैज्ञानिक गाउँमा डोजर चलेकै छ अनि जनप्रतिनिधिलाई ठेकेदार बनाउने क्रम थामिनसक्नु छ । माथिदेखि तलसम्म भ्रष्टाचार संस्थागत भएको छ भन्दा अत्युक्ति नहोला । गरिब झन झनै गरिब हुँदै गएकाे छ । जसकाे प्रत्यक्ष उदाहरण एउटै मानिस अनेककाे विराेधमा जानु र चिच्याउनु ।

दलहरूले निर्वाचनको बेला चुनाव जित्नलाई विभिन्न प्रचारात्मक कुराहरूलाई घोषणापत्रहरूमा लेख्ने गरेका छन् । विकास गर्ने बचन सहितको लिखतम् आफ्ना पत्रहरूमा भएपनि आवश्यकतालाई पुरा गर्न त कता हो कता जनतालाई भेडा बनाइरहन्छन् । यसकार्यबाट दलहरूमा अविश्वासको वातावरण बढेको स्पष्ट हुन्छ । आफ्नै बचनमा आफैँ प्रतिवद्ध नबन्दा नयाँ झुल्किरहेको जमातले पनि यहि गलत कुरालाई निरन्तरता दिन व्यस्त छन् । गरिबको नाममा बनेको सरकार गरिब मार्ने रणनीतिमा निस्कँदा समस्या झनै झाँगिएको छ ।

पार्टीहरूकाे यहि गलत गतिविधि बढ्दा पुरातन सत्ता सल्बलाउन थालेकाे छ । अब नेपालमा सनातन धर्म र राजाका विषयले प्रमुखता पाउन थालेका छन् जसकाे उदाहरण धर्म र राजाकाे पक्षमा नारा लाग्नु । लाेकतान्त्रिक गणतन्त्रकाे नारा त दियाैँ तर कार्यान्वयनकाे पाटाे सबै बिर्सियाैँ अब भन्नुहाेस् प्रजातन्त्र फस्टाउँछ कि मर्छ ?

यहि पारा हाे भने हामी सेकेण्ड सेकेण्डमा मर्नेछाैँ । सत्तापक्षले यसरी नाैटंकी देखाइरहने, प्रतिपक्ष चुपचाप बस्ने अनि अन्य दलहरू संवादभन्दा बाहिर बस्ने हाे भने याे सत्ताकाे भूतले देश खाइरहन्छ अनि हामी हेरिरहन्छाैँ । किनकी हामीले कहिल्यै प्रणालीकाे लागि लडेनाैँ र रैनछाैँ । किनकी यदि प्रणालीकाे लागि लडेकाे भए खै यहि अवस्था हुन्थ्याे ? धेरै नेता तथा कार्यकर्ता जन्माएकाे र जन्मिएकाे यहि बन्द, हडताल, विराेध, अस्तव्यस्तताका लागि हाे ? यदि हाे भने हामीले गुफाकाे यात्रा तय गर्दैछाैँ । सावधान !

जनताले तमासा धेरै हेरिसके, अब सहने सीमा पनि करिब करिब सकिएजस्तो देखिँदैछ । नागरिक साँच्चै दलीय स्वार्थ त्यागेर सडक र सदनसम्म नआउला भन्न सकिन्न । जनताले बनाउने शासक र नेता बिग्रीए भने जनताले आगामी दिनमा राम्रै व्यवस्था गर्ने देखिन्छ र पुराना, नयाँ र गर्नेलाई सत्तामा पुर्याउने निश्चित छ । काम नगर्ने तर वेथिति झंग्याउनेलाई अब नागरिकले रामराम भन्न सक्छन् कि सक्दैनन् त्याे भने हेर्न बाँकी नै छ ।

गाउँ सहर डेस्क

तपाईँको मत