समाज

६ महिनामा ५१९ वटा मुद्दा फैसला

वाग्मती । ६ महिनामा ५१९ वटा मुद्दा फैसला भएका छन् । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको ६ महिनामा ५१९ वटा मुद्दा फैसला गरेको हो । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा थपिएका मध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।

गत आर्थिक वर्ष दर्ता भएका ९१४ मध्ये ५१९ मुद्दा फछ्र्यौट गरिएको हो । गत आवमा फछ्र्यौट हुन बाँकी ३९५ मुद्दाको दायित्व र चालू आवकोे पुस मसान्तसम्म थप ७१४ मुद्दा दर्ता भई यस वर्ष एक हजार १०९ मुद्दा पुगेको बताइएको छ ।

अदालतले एक भिजन एक मिशन, एक वर्षभित्र न्याय सम्पादनको सिद्धान्तलाई अङ्गीकार गरेको जानकारी दिदैँ भट्टराईले सबै किसिमका मुद्दाहरु ६ महिनादेखि एक वर्षभित्र फछ्र्यौट गर्ने गरी काम भइरहेको बताएका छन् । कोरोनाको महामारीका कारण अदालतको काम कारबाही प्रभावित भएकाले पुरानो मुद्दा फैसलामा ढिलाइ भएको उनले बताएका छन् । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको दुई वर्ष पुरानो १६ मुद्दा फैसला हुन बाँकी रहेका छन् । उक्त मुद्दामध्ये १० देवानी तथा ६ फौजदारी मुद्दा फैसला गर्न बाँकी रहेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत