अर्थतन्त्र

चन्द्रागिरीको आइपिओ नेप्सेमा सूचीकरण प्रकृया अघि बढ्यो, अर्को साताबाट कारोबार हुने

काठमाडौँ । माघ ९ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको चन्द्रागिरी हिल्सले नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकरणका लागि प्रकृया अघि बढाएको छ । नेप्सेको सूचीकरण विभागका अनुसार कम्पनीले मंगलवार निवेदन दिएको हो । सबै कागजता पुरा भएको अवस्थामा एक दुई दिनभित्रै सूचीकरण भैसक्ने नेप्सेले जनाएको छ । 

कम्पनीले पुस २४ देखि २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री अुला गरेको थियो । संस्थापकतर्फ ८८ प्रतिशत र सर्वसाधरण तर्फ १२ प्रतिशत शेयर स्वामित्व हुने गरी कम्पनीको चुक्तापूँजी रू १ अर्ब ५३ करोड ४० लाख ९१ हजार कायम भएको छ । सोही पूँजी बराबरको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर कम्पनीले कारोबार योग्य बनाउँन प्रकृया अघि बढाएको हो ।

कम्पनीको आर्थिक वर्ष ०७—७६ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू ९६ दशमलव ६९ रहेको छ । नेप्सेले पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि रू ९६ दशमलव ९९ देखि रू २९० दशमलव ९७ सम्मको ओपन रेञ्ज पाउने देखिन्छ । 

यस कम्पनीले आईपीओका सबै आवेदकहरुलाई केवलकारको टिकटमा २५ प्रतिशत छुट समेत गर्दै आएको छ ।  एक पटकका लागि सबै आवेदकलाई केवलकारको टिकटमा २५ प्रतिशत छुट गरिएको कम्पनीका सञ्चालक अम्बिका प्रसाद पौडेलले जानकारी दिएका छन् । 

उनका अनुसार यो सुविधा २०७८ माघ ४ गतेसम्म प्रदान गरिनेछ ।  आवेदकहरुले टिकटमा छुट पाउनका लागि आफ्नो परिचय खुल्ने प्रमाणपत्र काउण्टरमा बुझाउन पर्ने छ ।आयोजना प्रभावित स्थानिय र सर्वसाधारणतर्फका सबै आवेदकले केवलकारको टिकटमा छुट पाउने पौडेलले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत