प्रेरणा

चिन्ता भयानक हुन्छ तर यस्ता चिन्ताले सजग र अनुशासित पनि बनाउँछ है

चिन्ता, भय वा डर मानिसको दैनिक जीवनमा देखा पर्ने नकारात्मक भावनाहरू हुन् । त्यसो त केही हदसम्म मानिसको मनमा चिन्ता र डर हुनु आवश्यक पनि छ । यो संसारमा चिन्ता नभएको मान्छे को हुन्छ र ? दिनभरमा हामी कुनै न कुनै कुराले चिन्तित भैहाल्छौँ । बिगतको कुराले । भबिस्यको कुराले । करियरको कुराले । सुरक्षाको कुराले । पैसाको कुराले । विफलताको कुराले । साथीभाईको कुराले । शारीरिक रोगको कुराले । छोराछोरीको कुराले । परिवारको कुराले । मृत्युको कुराले । इज्जतको कुराले । प्रतिष्ठाको कुराले । सम्पत्तिको कुराले । आदि ।

सहि मात्राको चिन्ताले हामीलाई सजग र अनुशासित बनाउँछ । निश्चित मात्रा सम्मको चिन्ता लिइराख्ने मानिसहरुमा मानसिक समस्या देखिदैन भन्ने विभिन्न अध्ययनले देखाएको छ तर सहि वा निश्चित मात्राको चिन्ता भनेर कसरी थाहा पाउँने ? के अवस्थामा पुगे पछि चिन्ता नियन्त्रण बाहिर पुगेको भनेर उपचारको खोजी गर्ने ? आउँनुहोस्, यो लेखमा लिनु पर्ने चिन्ता र गर्न नहुने चिन्ताका बारेमा जानकारी लिऔँ ।

१. स्वास्थ्यका बारेमा चिन्ता

चिन्ता लिनु पर्ने बिषयमा स्वास्थ्य मुख्य मध्येमा पर्छ । जस्तै: नियमित स्वास्थ्य अवस्था भन्दा केहि फरक अवस्था महसुस हुँदा त्यसबारे चिन्ता लिनेहरु रोकथामका उपायहरु अपनाउँछन् र स्वास्थ्य थप बिग्रिनबाट जोगिन सक्छन् । त्यस्तै स्वास्थ्यको बारेमा चिन्ता लिनेहरु नियमित स्वास्थ्य परिक्षण गर्छन् भने खानामा पनि ध्यान दिन्छन्, यसले स्वास्थ्य स्थिति राम्रो हुन्छ ।

वास्तवमा तौल नियन्त्रणका उपायहरु अपनाउँने, शारिरिक कसरत तथा योग र ध्यान गर्नेहरुमा पनि स्वास्थ्य प्रतिको चिन्ता रहेको हुन्छ ।

२. भविष्यको बारेमा चिन्ता

म सहि बाटोमा छु ? मैले गरेका कामहरुले भविष्यमा थप के कस्ता सम्भावनाका ढोका खोल्छन् ? कुन ठाउँमा लगानी गर्दा भविष्य सुरक्षित हुन सक्छ ? यस्ता चिन्ताहरुले तपाईको भविष्यलाई आकार दिनलाई मद्दत गर्छन् ।

त्यस्तै चिन्ताले खराब कुराहरुलाई त्याग्न र सहयोगका लागि कसैलाई अनुरोध गर्न पनि सहयोग गर्छ । यसले गर्दा अनावश्यक बोझहरुबाट तपाईलाई जोगाउँछ ।

 

३. सम्बन्धका बारेमा चिन्ता

सम्बन्धको चिन्ता भन्नाले शंका वा अन्य नकारात्मक कुराहरु होइनन् तर सम्बन्धलाई थप मजबुत कसरी बनाउँन सकिन्छ भन्ने चिन्ताले सम्बन्ध थप बलियो बन्छ । तपाईले आफ्नो साथीका बारेमा सोच्नुहुन्छ । यसले प्रेम झांगिन्छ ।

४. सुरक्षाका बारेमा चिन्ता

तपाईको घरको ढोका सजिलै खुल्छ कि खोल्दा भित्र सुतिरहनु भएको तपाईले थाहा पाउँनु हुन्छ ? बाइकको ब्रेक र चेनको कन्डिसन कस्तो छ ? भर्खरै बनाएको भर्याङले कति वजन थाम्छ ? पौडिन लागेको स्विमिङ पुल कति गहिरो छ र उद्दार गर्ने कर्मचारी कता छन् ? यस्ता चिन्ताहरुले तपाईलाई खराब गर्दैनन्, बरु तपाईलाई सुरक्षित बनाउँछन् । कुनै पनि दुर्घटनामा पर्नु भन्दा त्यसबारे चिन्ता लिएर सजग हुनु वा पुर्व तयारी गर्नु पक्कै पनि फाइदाकारी कुरा हो ।

५. परिवार र बालबच्चाको चिन्ता

परिवारको सुखसयल, उन्नति प्रगति लगायत बालबच्चाको सुरक्षा र भविष्यको चिन्ता सामान्य मानिसले लिनै पर्ने चिन्ता हो । मानिसले यहि चिन्ता लिने कारण नै मानिस सामाजिक प्राणी भएको हो । परिवार र बालबच्चाप्रतिको चिन्ताले मानिसलाई बाँधेर राख्छ । उसलाई आफ्नो कोही छ भन्ने र परिवार तथा बच्चाहरुको लागि पनि कोही छ भन्ने अपनत्वको भावना कायम राख्छ ।

कति मात्राको चिन्ता भयानक हुन्छ ?

माथि उल्लेख गरिएका ५ किसिमका चिन्ताहरु आममानिसका दैनिक जीवनका चिन्ताहरु हुन् । यी हानिकारक चिन्ता होइनन् । यी चिन्ताहरुमा बाँधिएकै कारण मानिसले प्रगति गर्छ, माया पाउँछ र माया गर्छ तर बुझ्नु पर्ने कुरा के हो भने चिन्ताले मात्रै कुनै पनि कुराको समाधान दिदैन । हुन त कहिलेकाँही केहि नगरी बस्नु भन्दा सामान्य चिन्ता लिएर बस्दा फाइदाकारी देखिन्छ तर सामर्थ्य भन्दा बाहिर गएर चिन्ता लिदा भने कुरा बिग्रिन्छ मात्रै, त्यसले समाधान गर्ने कल्पना नगरे पनि हुन्छ ।

तपाई केवल चिन्तामात्रै गर्नु हुन्छ र कुनै पनि चिन्ता निराकरणको तयारी वा प्रयास गर्नु हुन्न भने त्यो चिन्ता सहि होइन । चिन्ता राम्रो हो भन्नुको एउटै मात्र तर्क के हो भने चिन्ता लिइसके पछि तपाई त्यसको निराकरणको लागि तयारी गर्नु हुन्छ वा त्यसको निराकरणको लागि प्रयास गर्नु हुन्छ । तपाईले चिन्ता लिएर चिन्ता लिएको बिषय प्रति के गर्नु हुन्छ भन्ने कुराले तपाईको चिन्ता राम्रो कि नराम्रो भन्ने निश्चित गर्छ ।

यदि तपाई असाध्यै चिन्ता लिनु हुन्छ तर त्यो चिन्ताको बिषय नियन्त्रण गर्न कुनै पहलकदमी लिनु हुन्न वा लिन सक्ने अवस्था छैन भने तपाईको चिन्ताको बिषय गलत छ । त्यो कुराको चिन्ता लिनु पर्छ, जुन कुरालाई परिवर्तन गर्नु आफ्नो हातमा हुन्छ वा आफ्नो प्रयासले त्यसको परिवर्तनमा केहि भुमिका खेल्न सक्छ । यदि कुनै पनि अवस्थामा तपाईको चिन्ताले केहि पनि फरक पार्न सक्दैन भने त्यस्तो चिन्ता छोड्दिनुहोस् ।

यसका अतिरिक्त कुनै पनि चिन्ताले तपाईमा दुख थप्छ, तपाईमा समस्या थप्छ अथवा तपाई खतरामा पर्नु हुन्छ भने त्यो चिन्ता गलत छ । त्यस्तै चिन्ताले तपाईको दैनिक जीवन नै अस्तव्यस्त पार्छ र सहि निर्णय लिने क्षमतालाई प्रभावित पार्छ भने ढुक्क हुनुहोस्, तपाईको चिन्ताको मात्रा राम्रो भन्दा बढि नराम्रो तिर गइसक्यो । कुनै बिषयमा चिन्ता लिएकै कारण तपाई आफ्ना भन्नेहरुबाट एक्लिनु पर्ने अवस्थासम्म पुग्नु भयो भने तपाई गलत मात्रामा चिन्ता गर्दै हुनुहुन्छ ।

चिन्ता त्यति मात्रै लिने गर्नुहोस्, जति गर्दा काम बन्छ, जति गर्दा समस्या समाधान हुन्छ र जति गर्दा तपाईले मनमा गौरव वा अपनत्वको भाव अनुभव गर्न पाउँनु हुन्छ । यो भन्दा बढि खतरा, रिस, दुख, एक्लोपन, असफलता, समस्याहरुको अनुभव गराउँने चिन्ताहरु बेकारका चिन्ताहरु हुन् । त्यस्ता चिन्ताहरु बच्नुहोस् ।

गाउँ सहर डेस्क

तपाईँको मत