अर्थतन्त्र

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको दोश्रो त्रैमासको आर्थिक प्रतिवेदन प्रकाशन 

काठमाडौँ । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको दोश्रो त्रैमासको आर्थिक प्रतिवेदन प्रकाशन भएको छ । यस वित्तीय संस्थाले २०७७/७८ को दोश्रो त्रैमासको आर्थिक प्रतिवेदन प्रकाशन गरेको हो । संस्थाले आ.व. २०७७/७८ को दोश्रो त्रैमाससम्ममा कर्जा लगानी रू. ८ अर्ब ५५ करोड पु-याउन सफल भएको छ र बचत संकलन तर्फ रू. १ अर्ब ४ करोड पु-याउन वित्तीय संस्था सफल भएको छ । वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निस्कृय कर्जा अनुपात ०.९६ % र प्रतिशेयर आम्दानी रु २१.५९ रहेको छ । त्यसैगरी संस्थाले दोश्रो त्रैमासमा खुद नाफा १५.९७ करोड आर्जन गरेको छ ।

यसका साथै संस्थाले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम समझौतापत्रमा मिति २०७७/०९/१० मा हस्ताक्षर गरिसकेको छ । गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ । 

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो ।   

संस्थाको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्थाको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुने संस्थाले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत