खेल

नेपाली टिम कतार टी—२० सिरिजमा सहभागी नहुने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम कतारमा आयोजना हुने भनिएको टी—२० सिरिजमा सहभागी नहुने भएको छ । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि १८ सदस्यीय टिमलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको थियो । 

कतार सिरिजका लागि राष्ट्रिय टिमका प्रशिक्षक डेभ वाटमोर नजाने भएपछि बसन्त शाही ठकुरीलाई प्रशिक्षक तोकिएको थियो । टिममा कप्तान ज्ञानेन्द्र मल्लसहित सिनियर खेलाडीहरू पारस खड्का, बसन्त रेग्मी, शरद भेषवाकरसहित सन्दीप लामिछाने पनि समावेस थिएनन् ।

सिरिजका लागि सोमबारदेखि बन्द प्रशिक्षण हुने भनिएको थियो। तर अधिकांस खेलाडी बन्द प्रशिक्षणका लागि गएका छैनन्। बसन्त शाही ठकुरीले अहिले बन्द प्रशिक्षण स्थगित भएको जानकारी दिएका छन् । तत्कालका लागि बन्द प्रशिक्षण स्थगित भएको भन्ने क्यानबाट जानकारी आएको उनले बताए । 

बन्द प्रशिक्षणअघि खेलाडीलाई होटलमा राख्नुपर्छ तर आइतबार साँझसम्म टिममा परेका कसैलाई पनि खबर नगरिएको जनाइएको छ । रातिसम्म क्यानले प्रशिक्षण हुने वा नहुने विषयमा जानकारी नदिएको हुँदा एक खेलाडी आक्रोशित बनेका थिए । 

गाउँ सहर डेस्क

तपाईँको मत