कला

महेश कार्कीको “एक्लो महारथी” सार्वजनिक

काठमाडौँ । कवि तथा समालोचक महेश कार्की क्षितिजको पहिलो कविता सङ्ग्रह “एक्लो महारथी” सार्वजनिक भएको छ ।

कवि भुवनहरि सिग्देलको सभापतित्वमा नेपाल प्रज्ञाप्रतिष्ठनमा शनिबार आयोजित एक कार्यक्रममा कवि कार्कीका मातापिता लालबाहदुर कार्की र चन्द्रमाया कार्की, कविहरू पुष्कर लोहनी र मोमिला तथा समीक्षकहरू राजकुमार बानियाँ र महेश पौड्यालले उक्त कृतिलाई संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै समीक्षक राजकुमार बानियाँले कवि कार्कीको कवितामा पाइने आख्यान एक उत्तराधुनिक शैली भएको बताए । उनले कवितमा पाइने ग्रामीण बिम्ब र सूक्तिमय कथ्यहरू कवि कार्कीका कविताको शक्ति भएको जिकिर गरे । समीक्षक महेश पौड्यालले कार्कीका कविता पूर्वीय मिथक र ग्रामीण अनुभवहरूमा उभिएकोले तिनमा छुट्टै प्रकारको मौलिकता विद्यमान गरेको टिप्पणी गरे । उनले भने, “यी कवितामा पाइने आख्यानका माध्यमबाट कविले लेखकीय हस्तक्षेपलाई न्यूनीकरण गर्नुका साथै पात्रहरूलाई वाचल बनाएका छन् ।” कवि मोमिलाले कवि कार्कीको कवितामा विद्यमान दर्शन र सूक्तिमयतामाथि विशेष प्रकाश पारिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि कार्कीले आफू भोजपूरमा रहँदैदेखि कविता लेखनतिर प्रवृत्त भएको जिकिर गरे । उनले भने, उनको यो सङ्ग्रह आफू जन्मेको माटोले उनीबाट राखेको काव्यिक अपेक्षाको उत्तर हो ।

कार्यक्रमका सभापति कवि भूवनहरि सिग्देलले कवितामा दर्शनको जग हुनु र सूक्तिमयता हुनु कविताको सबल पक्ष भएको बताए । शिखा बुक्सका प्रमुख पुष्कराज पौडेलले उनको प्रकाशनले स्तरीय कविताको प्रकाशनलाई निरन्तरता दिँदै लाने बताए ।

कार्यक्रममा कविहरू डा. नवराज लम्साल, ज्योति जङ्गल, मणि लोहनी र प्रज्ज्वल अधिकारीले सङ्ग्रहबाट एक एकवटा कविता वाचन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत