शिक्षा

'दरबार हाइस्कुल' मा भौतिक उपस्थितिमा पठनपाठन सुरू


काठमाडौँ ।  'दरबार हाइस्कुल’ मा भौतिक उपस्थितिमा नै पठनपाठन सुरू भएको छ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरू भएको हो ।

भूकम्प गएको पाँच वर्षपछि आजदेखि विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरू गरिएको छ ।

नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपछि आकर्षक ढङ्गले पुनःनिर्माण सकिए पनि नौ महिनापछि गत कात्तिक ५ गते स्कुल राष्ट्रप्रमुख विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो ।

एक हप्ताअघि नै कामपाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आजदेखि विद्यालय सञ्चालन गर्न लागिएको कामपा वडा २७ का सदस्य परिवेशमान बज्राचार्यले जानकारी दिएका छन् ।

निर्धारित कोटाअनुरुप अहिले भानु माविको कक्षा ५, ६,७ र ८ मा विद्यार्थी सङ्ख्या पुगेको छ । भवनको निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३१२ जना विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए । नयाँ भवनमा विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि विद्यालयले कक्षा ५, ६, ७ र ८ कक्षामा विद्यार्थीको बस्नका लागि सिट क्षमता बढाएको छ ।

पुनःनिर्माणपछि विद्यालयमा प्रति कक्षा ३६ जना विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः ६ जना विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो । क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ ।

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिलको जस्तै देखिन्छ । ९ रोपनी जमीनमा निर्माण गरिएको विद्यालय भवन चार तले छ र यसमा ६० वटा कक्षा कोठा रहेका छन् ।

नयाँ भवनमा प्रयोशाला समेतको सुविधा र अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको निर्माणको काम चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले गरेको हो ।

भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेना गृह, दुई वटा पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएका छन् । रु ८५ करोड ५९ लाख लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सी लगायत सम्पूर्ण भौतिक संरचना समेत चीन सरकारले नै उपलब्ध गराएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत