राजनीति

ओली समूहको जनसभा नारायणहिटी सडकमा हुने

काठमाडौँ । ओली समूहको जनसभा नारायणहिटी सडकमा हुने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँमा जनसभा गर्ने तयारी गरेको हो ।

ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको कमिटीले सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने जनाएको छ ।

कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका छन् ।

अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गरिने भएको छ । 

प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरिसकेको छ । सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु र नेपाल खेलकूद महासङ्घले स्वयम्सेवक परिचालन गर्ने जनाइएको छ ।

उक्त दिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघर लगायत स्थानबाट कलाकार सहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने बताइएको छ । जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचान सहित तथा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका सबै पालिका सहभागी हुने कमिटीले जनाएको छ । सभाको तयारीका लागि यही माघ २१ गते उपत्यकामा १० हजार मोटरसाइकल र्‍याली गर्ने भएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत