समाज

नक्कली नोटसहित दुईजना प्रहरी नियन्त्रणमा

काठमाडौँ । नक्कली नोटसहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रहेका छन् । उनीहरुलाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले पक्राउ गरेको जनाएको छ । 

उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २०० , नक्कली नोट हजार दरको पाँच , मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स, ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिएका छन् ।

पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत