राजनीति

दाहालले भने : केपी शर्मा ओलीले आफैँमाथि कलंकको टीका लगाए, उनी अस्ताउँदा सूर्य हुन् : नेपाल

काठमाडाैं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले आफैमाथि कलंकको टीका लगाएको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले भने, ‘उहाँले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर इतिहासमै कलंकको टीका लगाउनुभयो । आफैलाई खलनायकको रुपमा स्थापित गर्नुभयो ।’

संविधानले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको बताउँदै प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चले न्याय गर्नेमा प्रचण्डले विश्वास व्यक्त गरे ।

उनले भने, ‘सर्वोच्चले न्याय गर्छ हामी सही फैसला हुने विश्वासमा छौ ।’  त्यस्तै, यस्तै प्रचण्डले केपी ओलीलाई कारबाही गर्ने तागत संसद र आफूहरुलाई रहेको बताएका छन् ।

प्रचण्डले आफूलाई छाडेर हिँडेका नेता लेखराज भट्ट दलालको पनि दलाल भएको पनि बताए । अध्यक्ष दाहालले भट्टको नामसमेत नलिई आफैँले हुर्काएको मान्छे छोप्न नसकिने गरी दलाल बनेर गएको टिप्पणी गरे । 

आमसभालाई सम्बोधन गरेका नेकपाका नेता माधवकुमार नेपालले देशमा केपी ओली युग अन्त्यको घोषणा गरेका छन् । ‘केपी ओली युगको अन्त्य हुँदैछ, उनी अस्ताउँदा सूर्य हुन्’, धनगढी खुलामञ्चमा आयोजित  विरोध सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘हामी उदाउँदो सूर्य हौं, नेपाल कम्युनिष्ट पार्टी चम्किएर आउँदैछ ।’ 

ओलीलाई दुर्योधनको संज्ञा दिदै नेपालले कौरवको विनाश दुर्योधनको अहंकारका कारण भए झै ओलीको अहंकारका कारण ओली र ओलीका मतियारहरुको पतन निश्चित रहेको बताए ।

‘केपी ओली कम्युनिष्ट पार्टीमा जन्मिएका कुसन्तान हुन्’, नेपालले भने, ‘केपी ओली बिग्रिएकोमा चिन्ता नगर्नुस् । उनी सुध्रिनेवाला छैनन् । बालुवा पेलेर तेल निस्किँदैन ।’

सभालाई दाहाल, नेपाल लगायतका नेताहरुले सम्बोधन गरेका छन् । आमसभालाई सो समूहका सुदूरपश्चिम ईन्चार्ज भीम रावल, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतले पनि सम्बोधन गरेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत