सडक/यातायात

अब तपाइँहरूकै जिम्मा

काठमाडाैं । वीपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो ।

पुनःनिर्माण गरिएको वीपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए । नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषि क्षेत्रमा जापान सरकारको योगदान अनुलनीय रहेको मन्त्री नेम्वाङको भनाई छ ।

जापनीज राजदूत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ सधैँ निरन्तर रहने बताए ।

राजधानीलाई पूर्वी तराईसँग जोड्ने १६० किलोमिटर लामो वीपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गतेको भूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो ।

वीपी राजमार्गको पुनःर्निर्माण सन् २०१९ जुलाई ३ मा जापानीज निर्माण कम्पनी हाजमा अण्डो करपोरेशनले सुरु गरेको थियो । करिब १८ महिनामा निर्माण सम्पन्न भएको हो ।
पुनर्निर्माणमा गिट्टी, बालुवा बाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत