गाउँ सहर

५० करोडको सरकारी जग्गा हडप्ने प्रयास असफल

नेपालगञ्ज । ५० करोडको सरकारी जग्गा हडप्ने प्रयास असफल भएको छ । अनियमित तरिकाले व्यक्तिका नाममा गरिएको ५० करोड मूल्य बराबरको सरकारी जग्गालाई पुनः सरकारकै नाममा फिर्ता ल्याइएको हो ।

बाँकेको खजुरा–४ को विष्णुकुमार थापा र रत्नाकुमारी थापाको नाममा अनियमित तरिकाले दर्ता गरिएको ५० करोड रुपियाँ बराबरको १७ बिगाह जग्गा नेपाल सरकारको नाममा दर्ता गर्ने निर्णय गरिएको मालपोत कार्यालय, बाँकेले जानकारी दिएको छ ।

विभिन्न जालझेल गरेर ५० करोड मूल्यको सरकारी जग्गालाई थापा दम्पत्तिको नाममा गरिएपनि हाल आएर सो बारेमा छानविन गरी सरकारकै नाममा फिर्ता गरिएको मालपोत कार्यालय बाँकेका निमित्त प्रमुख अमर सेजुवालले जानकार दिएका छन् । 

उनले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको निर्देशनमा उक्त जग्गा बारे छानविन गर्दा सरकारी जग्गा रहेको पुष्टि भएपछि सरकारकै नाममा फिर्ता ल्याइएको बताए ।

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको अभिलेखमा दुई फरक कित्ताका १० र ७ विगाह गरी १७ बिगाह जग्गा विष्णु कुमार थापा र रत्नादेवी थापाका नाममा ल्याइएको पाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताएका छन् । थापा परिवारबाट कानुनी जालझेल गरी मोटो रकम प्रलोभनमा पारेर जग्गा आफ्नो बनाइराख्न भूमिसुधारका कर्मचारीलाई प्रभावमा पारेको खुल्न आएको छ प्रजिअ कुरुम्वाङले भने।

खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले नेपाल सरकार मन्त्री परिषद्को २०७६ माघ ६ गतेको बैठकले सरकारी जग्गालाई फिर्ता ल्याउन गरेको निर्णय कार्यान्वयनमा ल्याउन गाउँपालिकाले भूमिसुधार तथा मालपोत कार्यालयलाई दवाव दिएको बताए । उनले एक वर्षसम्म पालिकालाई कुनै औपचारिक जानकारी नआएपछि यही माघ ४ गते भूमिसुधार तथा मालपोत कार्यालय बाँकेलाई पत्राचार गर्दै निर्णय कार्यान्वयनको माग गरिएको बताए ।

सोही मागपछि अनुसन्धान र छानविन हुँदा उक्त जग्गा अनियमित तरिकाले कर्मचारीलाई प्रलोभनमा पारेर थापा दम्पत्तिले आफ्नो नाममा गरेको कुरा बाहिरिएको हो ।

गाउँ सहर डेस्क

तपाईँको मत