समाज

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौँ । चिनी मिलका सञ्चालक  पक्राउ परेका छन् । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि आज बिहान सर्लाही पठाएको जानकारी दिएका छन् ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई सर्लाही पठाइएको हो । 

कुँवरका अनुसार सर्लाहीका उखु किसानले रु १७ करोड दाबी गर्दै अग्रवाललाई पक्राउ गर्न दिएको निवेदनका आधारमा काठमाडौँमा पक्राउ गरेर जिल्ला पठाइएको हो । अग्रवाल सञ्चालक रहेको दुई चिनी मिलले उखु किसानलाई रु ८ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलको रु १७ करोड र नवलपरासीमा रहेको इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख गरी दुई चिनी मिलले रु २१ करोड ७० लाख बक्यौता रकम रहेको थियो । उक्त रकममध्येमा मङ्गलबार साँझसम्म अन्नपूर्ण सुगर मिलले रु १२ करोड ६३ लाख ७२ हजार र इन्दिरा सुगर मिलले रु ८३ लाख गरी रु १३ करोड ४६ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत