गाउँ सहर

मेलम्चीकाे पानी वैशाखमा आउने !

काठमाडाैं । मेलम्चीकाे पानी खाने आशामा बसेका काठमाडाैंबासीले भाका पछि सरेकाे सरेकै हुँदा यसै भन्ने सकिने अबस्था छैन । 

मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची खोलाको पानी काठमाडौं आउन कम्तीमा अझै तीन महिना लाग्ने जनाएको छ । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि एक महिना थप काम गर्नुपर्ने भएको छ ।

पानी पथान्तरणको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ । जसअनुसार मेलम्चीको पानी काठमाडौं आउन कम्तीमा तीन महिना तालिकाअनुसारको काम गर्नुपर्नेछ । विज्ञ टोलीले दिएको सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरण गरिनेछ । सुधारको काम गर्न एक महिना लाग्नेछ ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार फागुन पहिलो हप्ता सुधारको काम सकिनेछ । सुधारको काम सकिएपछि पानी पथान्तरण तथा सुरुङको परीक्षण गरिनेछ । दुई महिना पथान्तरण गरिएपछि सुन्दरीजलमा पानी पठाइनेछ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री भन्छन्, “फागुन पहिलो हप्ता सुधारका काम सबै सकिन्छ, त्यसपछि दुई महिना सुरुङ टेस्टिङ गर्न लाग्छ अनि मात्र पानी आउँछ ।”

गाउँ सहर संवाददाता

तपाईँको मत