गाउँ सहर

प्रचण्डले भैँसी पूजा गरेका थिए प्रधानमन्त्रीले पशुपतिनाथमा पूजाआजा फरकचाहिँ यत्ति हो : थापा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पशुपतिनाथमा पूजाआजाका लागि पुगेका प्रधानमन्त्री ओली र भैंसी पूजा गरिरहेका पुष्पकमल दाहाल प्रचण्डका बेग्लाबेग्लै तस्बिर फेसबुकमा राखेर बिहीबार बिहान सल्लाहकार थापाले पशुपतिनाथमा पूजाआजा गरेजस्तो भैंसी पूजा स्वभाविक मानिँदैन भनेका छन् ।

केही दिनअघि प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गरेको विषय सर्वत्र प्रशंसा भएको बताएका छन् ।

प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली पशुपतिनाथ मन्दिर धाएकोमा चुनावसँग जोडेर चर्चा भइरहेका छन् ।

‘प्रधानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माण कार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयो,’ उनले लेखेका छन्, ‘सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो ।’

थापाका अनुसार पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ ।

‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ,’ उनले भनेका छन् ।

‘पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो । भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिँदैन । बुझ्ने आआफ्नै स्तर हुन्छ । फरकचाहिँ यत्ति हो !’ उनले भनेका छन् ।

तत्कालीन माओवादीका अध्यक्ष हुँदा २०६६ माघ २९ मा भैंसी पूजा गरेको भन्दै प्रचण्डको आलोचना भएको थियो । त्यसबेला उनले ग्रह शान्तिका लागि भन्दै भैंसी पूजा गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत