समाज

आँखा अगाडी ३० वटा घर जलेर खरानी, ३ करोड बढीको क्षति

जुम्ला । जुम्लाको तिला गाउँपालिका वडा नं.७ को गोठी गाउँमा भीषण आगलागी हुँदा ३० वटा घर जलेर खरानी भएका छन् । सदरमुकामबाट करिब ४२ किलोमिटर टाढा रहेको उक्त गाउँमा मङ्गलवार साँझ ५ बजेतिर आगलागी हुँदा ३० घर जलेर नष्ट भएका हुन्  ।

गोठी गाउँमा रहेका जम्मा ५४ घर मध्य ३० घर जलेर नष्ट भएको र अन्य २४ घर बचाउन सफल भएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक नवीन थापा मगरले जानकारी दिए ।

प्रहरी मुचुल्का अनुसार गोठीगाउँ आगलागीबाट मानवीय क्षति नभए पनि करिब ३ करोड १८ लाख बराबरको भौतिक धनमाल क्षति भएको छ । जसमा २३ वटा गोरु, १७ वटा गाई, २४ वटा बाख्रा, ९ वटा खरायो र ४ वटा कुखुरा मरेका छन् ।

चुलाको पाइपबाट आगोको झिल्को बाहिर गएर छतमा राखिएको घाँसबाट आगो सल्केर गाउँमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगो निभाउने कुनै स्रोत नभएपछि आँखा अगाडी घर खरानी भएको हेर्न बाध्य भएको स्थानीय गोविन्द रोकायाको दुखेसो छ ।

स्थानीय लाल बहादुर रोकाया, पर्यलाल रोकाया, परिमल रोकाया, गोविन्द रोकाया, बल रोकाया, लाल बहादुर रोकाया, मुनीन्द्र रोकाया, गोरे रोकाया, धन बहादुर रोकाया, लालसिंह रोकाया, धनरुपा रोकाया लगायत ३० जनाको घर जलेर खरानी भएको स्थानीय परिमल रोकायाले बताए ।

गोठीगाउँका अग्निपीडितलाई एकद्धार प्रणालीबाट राहत वितरण गर्ने निर्णय भएको छ । स्थानीय गैर सरकारी संस्थासँग समन्वय गरेर अग्निपीडितलाई राहत दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।-सागर परियार

गाउँ सहर संवाददाता

तपाईँको मत